काठमाडौं, ४ माघ ।
ललितपुर र पवर्तमा दुई महिलालाई नाटकीय शैलीमा लुटपाट भएको छ । पवर्तमा अभियुक्त पक्राउ परेका छन् भने ललितपुरमा प्रहरीले खोजी गरिरहेको छ ।
पर्वतको मोदी गाउँपालिका–६ बस्ने ७० वर्षीया महिलाको साथबाट नगद सहितको झोला चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका-१२ अमलाचौर बस्ने २३ वर्षीय शिव विश्वकर्मा र सोही ठाउँ बस्ने २० वर्षीय सागर सापकोटा रहेका छन् ।
मोदी गाउँपालिका–६ पाउदीखेतमा बुधबार बिहान हिँडिरहेको अवस्थामा स्कुटरमा सवार दुई जना अपरिचित व्यक्तिहरुले लठ्ठ बनाउने औषधी सुघाई महिलाको साथमा रहेको नगद सहितको झोला चोरी गरी स्कुटरमा भागेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले उनीहरुलाई कुश्मा नगरपालिका–११ पकुवाबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रदेश २–०३–०१० प १५०३ नम्बरको स्कुटर, नगद १९ हजार १ सय ३० रुपैयाँ सहितको झोला, कोलोफर्म लेखेको ५ सय एमएलको शिसाको बट्टा र कैची प्रहरीले बरामद गरेको छ ।
यता ललितपुर महानगरपालिका–२० पुल्चोकबाट काठमाडौं ढुङ्गेधारा बस्ने गोरखा घर भएकी ४५ वर्षीया महिलाले कानमा लगाएको आधातोला टप, १ तोलाको सुनको सिक्री र ६ आनाको औंठी शुक्रबार बेलुका लुटपाट भएको छ ।
अपरिचित व्यक्तिले फ्रुटीमा नसालु पदार्थ खुवाई ती महिलाको साथबाट उक्त गरगहना लुटपाट गरी फरार भएका बताइएको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले ती महिलालाई उपचारको लागि पाटन अस्पताल पठाएको छ ।