Logo
Logo

पोल छ, बिजुली छैन : विद्युत प्राधिकरणको काम अलपत्र


- दृष्टि न्युज/संवाददाता

126
Shares

कावासोती, ४ माघ । बौदीकाली गाउँपालिका–३ र ४ मा पोल गाडिएको दुई वर्ष वित्यो, तर अझै बिजुली आएको छैन । कहिलेसम्म पोलमा बिजुली आउँछ भन्ने समेत पत्तो छैन ।
नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली नआएपछि स्थानीय अन्धकारमै बस्न बाध्य छन् । स्थानीय छिटोभन्दा छिटो बिजुलीको काम सम्पन्न गर्न माग गरेका छन् ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि यहाँ काम अलपत्र परेको छ । विद्युतीकरणका लागि विसं २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्राललय गण्डकी प्रदेशमार्फत रु एक करोड ८२ लाख १५ हजार ३९७ बजेट विनियोजन गरिएको थियो । विसं २०७६ माघ महिनादेखि यहाँ पोल गाड्ने काम शुरु भएको थियो । गत चैत महिनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भए पनि त्यसयता काम ठप्प हुँदा बिजुली बालेर उज्यालोमा बस्ने सपना देखेका यहाँका बासिन्दा निरास भएका छन् ।
गत वर्षको चैत महिनादेखि लकडाउन भएपछि काम रोकिएको थियो । अन्य ठाउँका विकास निर्माणका काम विगत चार÷पाँच महिनादेखि नै सञ्चालन भइरहँदा यहाँको काम सञ्चालन हुन नसक्दा उज्यालोमा बस्ने स्थानीयवासीको आशा निराशामा परिणत भएको स्थानीय अगुवा कुलमणि ढुंगानाले बताए । उनले भने, ‘हामीले पटक–पटक स्थानीय र प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गरायौँ तर कसैले पनि चासो देखाएका छैनन् । देशैभर विभिन्न विकास निर्माणका कामले गति लिँदा पनि यस गाउँमा विद्युत् प्राधिकरणको काम अलपत्र परेको छ । काम छिटो सम्पन्न गरेर हाम्रो समस्याको सामाधान गर्नुपर्यो ।’
गाउँमा बत्ती आए धेरै सुविधा हुने, कुटानी पिसानीदेखि बत्ती बाल्न, टिभी हेर्न सजिलो हुने स्थानीयवासी कृष्णप्रसाद पराजुलीले बताए । उनका अनुसार विद्युत् नहुँदा कतिपयले गाउँ छाडेर गएका छन् । ‘विद्युत् नहुँदा युवा पनि गाउँबाट पलायन भएर अन्त गएका छन् । बिजुली भएको भए त गाउँमै केही गर्ने थिए होला नि ?’ पराजुलीले भने, ‘सिँचाइलाई पानीको पनि समस्या रहेकाले बत्ती आएको भए जेनेरेटरले खोलाबाट पानी तान्न पनि सजिलो हुने थियो, अरु सबै मेसिन चलाउन सजिलो हुने थियो तर बत्ती नहुँदा सबै कुरामा समस्या छ ।’
बौदिकाली गाउँपालिकाको वडा नं ३ र ४ मा करिब पाँच किलोमिटरको दूरीमा १५० वटा हाइटेन्सनका पोल गाडिएका छन् भने स्थानीय तहका करिब १५ किलोमिटरको दूरीमा ४०० पोल गाडिएको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जिनीयर कविन्द्रकुमार झाले जानकारी दिए । चालु आवको असोज मसान्तसम्म बिजुली बाल्ने सम्झौता भएको भए पनि कोरोना संक्रमणका कारणले रोकिएको झाले बताए । त्यसपछि अहिले डिस इन्सुलेटरको अभावले कामलाई अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्