Logo
Logo

भुजी किनारका बासिन्दाः कतिले प्रियजन गुमाए, कतिले थातथलो, यो ठिहीमा के गर्दै होलान् ?


- दृष्टि न्युज/संवाददाता

756
Shares

बागलुङ, ४ माघ । गत वर्षात्मा बितण्डा मच्चाएको भुजीखोला मध्य हिउँदमा शान्त छ । गड्गडाउँदै बग्ने खोला यतिबेला सुस्ताइरहेको छ । अपशोच, भुजी किनारका बासिन्दा भने अहिले पनि बेचैनीमा छन्, मनमा परेको बज्रको ज्वाला अझै निभेको छैन ।

गत भदौ १७ को मध्यरात ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढीको घटना कतिले बिर्सिसके । पाँच महिनामा भुजीखोलामा धेरै पानी बगिसक्यो तर बाढीपीडितको पीडा भने उस्तै छ, झन्झन् गहिरिँदै छ । कतिले बाढीमा प्रियजन गुमाए, कतिले थातथलो र जायजेथा । त्यसरी उठिबास भएकाहरू यस माघको ठिहीमा के गर्दै होलान् ?

वडा नं ९ घट्टेचौरका वीरबहादुर विकले भने, “श्रीमती र तीन भाइ छोरा गुमाएँ, घरखेत केही छैन, उठीबास भएपछि अहिले अर्कैको घरमा आश्रय लिएको छु ।” उनकी श्रीमती चनी तथा छोरा नौवर्षीय रोशन दुईवर्षीय खिमप्रसाद र २२ दिने राजनको बाढीमा परी निधन भएको थियो ।

बत्तीस वर्षीय विकले वैशाखसम्म घर बनाइदिने नगरपालिकाबाट आश्वासन पाए पनि अहिलेसम्म कुनै सुरसार नदेखिएको गुनासो गरे । “बरु आश नदेखाएको भए मागेर पनि खाइन्थ्यो होला, माथिबाट आएर हामी सहयोग गर्छौँ भन्नुभएको छ, हेरौँ”, उनले भने, जग्गा सबै बाढीले बगाएपछि घर कहाँ बनाउने भन्ने पिरलो विकमा छ ।

बाढीबाट सबैभन्दा बढी प्रभावितमध्येमा उनी पर्छन् । बुकी गएका कारण आफू बाँच्न सफल भए पनि विकले ठूलो पारिवारिक वियोग सहनुप¥यो । श्रीमती र छोराहरु गुमाउँदाको शोक केही मत्थर भए पनि आफ्नो बाँकी भविष्य सम्झेर उनी चिन्तित हुन्छन् । उनी नयाँ घर पाउने आशमा छन् ।

सोही वडा, लाँकुरीबोटका बाढीपीडित भीमबहादुर सुनारले ऋण काढेर अस्थायी छाप्रो बनाएको सुनाए । “घर, पसलसहित सबै बाढीले लग्यो, अहिले त्यहीँ नजीकै छाप्रो हालेको छु”, उनले भने, “पहिलेदेखि व्यवसाय गरेकाले त्यसैमा सानो पसल शुरु गरेको छु ।”

बाढीले घर बगाएपछि सुनारको परिवारले केही समय गाउँकै विद्यालयमा आश्रय लिएको थियो । छाप्रामा श्रीमती र ६ छोराछोरीसहित दुःखजिलो गरेर दैनिकी गुजारिरहेको सुनारले बताए । बाढीपीडितको पुनःस्थापनामा ढिलाइ हुन नहुने उनको भनाइ छ । “सबै आए, भाषण गरे तर अहिलेसम्म केही गरेका छ्रैनन्”, सुनारले भने ।

आफ्नै घर, कमाएर खाने सानो जग्गा नहुँदाको पीडादायी स्थितिमा विस्थापित छन् । वडाध्यक्ष हरिबहादुर घर्तीले विस्थापित परिवार कोही आफन्तकहाँ त कोही गोठ र छाप्रो बनाएर बसेको बताए । “यस्तो चिसोको याम छ, मान्छेहरु पीडामा छन्, वडाले गर्न सक्ने केही छैन”, उनले भने । वडाध्यक्ष घर्तीले सङ्घ र प्रदेश सरकारबाट घर पुनःनिर्माणका लागि सहयोग आउने भनिए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको बताए । “देशविदेशबाट नगरपालिकाको राहत कोषमा जम्मा भएको पैसा पनि बाढीपीडितका लागि आउन सकेको छैन”, उनले भने, स्थानीयवासी जुनकुमार विकका अनुसार जाडो याममा बाढीपीडितको दैनिकी थप कष्टकर बनेको छ । “कोही निगाला र स्याउलाले बारेर हिउँदे गोठ बनाएर बसेका छन्, कोही पालमा छन्”, उनले भने, “नगरपालिकाले तत्काललाई अस्थायी बासको प्रबन्ध गर्ने भने पनि त्यो कुरैमा सीमित भएको छ ।”

विकका अनुसार बाढीमा घर, खेतबारी, सम्पत्ति सबै गुमाएका परिवारको बिचल्ली छ । राहतमा पाएको खाद्यान्नलगायत सामग्री सकिएपछि केही परिवारलाई हातमुख जोड्नै धौधौ पर्ने स्थिति छ । खेतीबाली लगाइने जग्गा पनि बगरमा परिणत भएको छ । विस्थापितलाई लामो समय अरुकहाँ आश्रय लिएर बस्न पनि अप्ठेरो छ ।

सरकार र दाताबाट जतिसक्दो छिटो घर बनाइदिन सके बाढी प्रभावितलाई ठूलो राहत मिल्ने वडाध्यक्ष घर्तीले बताए । व्यक्तिका घरदेखि क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणमा सरकारले ढिलाइ गर्न नहुने उनको भनाइ छ । राहतले तत्कालको समस्या टरे पनि दीर्घकालीन व्यवस्थापन गर्न नसक्दासम्म प्रभावितको पीडा कम नहुने देखिन्छ ।

कहिले पूरा होला प्रतिबद्धता ?
बाढीको घटनालगत्तै उद्धार र राहतमा सबै पक्ष जुटे, नगद, खाद्यान्न, लत्ताकपडा, औषधि वितरण गरे । देशविदेशमा राहत अभियान चल्यो । गृहमन्त्री रामबहादुर थापादेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसम्मले बाढीग्रस्त क्षेत्रमै पुगेर राहत सामग्री बाँड्नुभयो, बाढीपीडितको पुनःस्थापनाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

यस्तै गत असोजमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले नगरपालिकाको केन्द्र बुर्तिबाङमा भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय नै राखेर पुनःनिर्माणको काम थाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले पनि हिउँद लाग्नासाथ क्षतिग्रस्त घरको पुनःनिर्माण थालिने बताएका थिए । उनले एकीकृत खालको बस्ती बसाउन सम्भव नहुने भएपछि व्यक्तिले उपलब्ध गराउने जग्गामा घर बनाइदिने प्रतिबद्धता जनाएका थिए । विस्थापितहरु तीनै तहका सरकारका तर्फबाट आएको पुनःस्थापनाको प्रतिबद्धता छिट्टै पूरा होस् भन्ने चाहन्छन् ।

नगरपालिकाका उपप्रमुख करमती पुनले बाढीबाट प्रभावित सबै वडाबाट क्षतिको यकिन विवरण सङ्कलनको काम भइरहेको बताए । “पूर्ण क्षति भएका घर पुनःनिर्माणमा नगरपालिकाले आवश्यक प्रक्रिया थालेको छ”, उनले भने, “हाम्रो बजेटले मात्र नधान्ने हुँदा प्रदेश र सङ्घ सरकारसँग पनि माग गरिएको छ ।”

जग्गै नभएका परिवारलाई पनि नगरपालिका र अन्य दाता मिलेर जग्गा व्यवस्थापन गर्ने योजना बनाइएको उपप्रमुख पुनले बताए । उनका अनुसार नगरपालिकाको बाढीपीडित राहत कोषमा झण्डै रु दुई करोड ५० लाख सङ्कलन भइसकेको छ । “राहत रकमले मात्र घर पुनःनिर्माण सम्भव छैन, माथिबाटै सम्बोधन हुनुपर्छ”, उपप्रमुख पुनले भने ।

बाढी आएको पाँच महिना बित्न लाग्दासमेत पुनःस्थापनाको काम अघि नबढ्दा बाढीपीडित निराश बन्न थालेका छन् । बाढीले सबैभन्दा बढी वडा नं ९ मा क्षति पु¥याएको थियो । त्यहाँका मात्र १०३ घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको थियो । यस्तै वडा नं ८ का आठ घर पूर्ण र नौ घरमा आंशिक क्षति छ । बाढीबाट वडा नं ५ ६ र ७ सम्मै प्रभावित भएको थियो ।

पाकृतिक प्रकोपबाट सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायत सयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका थिए । हजारौँ रोपनी खेतीयोग्य जमीन बगर पल्टेको छ । बाढीले लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टेचौर, चेप्टाजुर, दुवाल, फल्लेघरलगायत बस्तीमा सबैभन्दा ठूलो क्षति पु¥याएको थियो । बाढीमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ अझै बेपत्ता छन् । लघुजलविद्युत् आयोजनालगायत केही संरचनाको पुनःनिर्माण स्थानीयवासी आफैँले गरेका छन् । भुजीखोलाको बाढीपछि सरकारले पनि जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम थाल्ने घोषणा गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्