काठमाडौं, ६ माघ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार आज विहान साढे ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिए ।
उनका अनुसार अहिले विहान सामान्य तुवाँलो लागेको छ भने बादल पनि लागेकाले आंशिक बदलीको अवस्था रहेको छ । काठमाडौंमा आज दिउँसो आंशिक बदली रहने छ । घाम लाग्ने र बादल लाग्ने क्रम दिनभर चल्ने छ ।
यस्तै, महाशाखाले मंगलबार बिहान एक सूचना जारी गर्दै आज देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जानकारी दिएको छ । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहेको र तराईका भूभागहरुमा हुस्सु र कुईरो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसोको मौसमबारे गरिएको पूर्वानुमानका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने अनुमान छ ।
राति भने प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।