काठमाडौं, ६ माघ । हाम्रो परराष्ट्रमन्त्री जसरी अपमानित भएर घर फर्के त्यो भन्दा बढी चासो अहिले हाम्रो प्रधानमन्त्री ओलीको चिठ्ठीको भएको छ । के भयो त्यो चिठ्ठी ? त्यत्रो प्रचार बोकेको चिठ्ठी ! त्यसलाई बोकेर गएका परराष्ट्रमन्त्री त फर्के । अनि खै त चिठ्ठी ? त्यसको त नाम निसाना नै कही पनि छैन । स्मरण रहोस, उक्त चठ्ठी बोकेर गएका थिए हाम्रा परराष्ट्रमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर हातमा बुझाउन । हुनसक्छ नेपाल भारतबीच विद्यमान मित्रतालाई अझ प्रगाढ र मजबुत पार्न दुई देशका प्रधानमन्त्रीको भ्रमणसँग सम्वन्धित होस् । तर ओलीले के हेक्का राखेका छैनन् भने उनी कामचलाउ प्रधानमन्त्री मात्र हुन् अहिले ।
चौसठ्ठी प्रतिशतको नेकपाको सरकार उनले आफैले स्वहा पारिसकेका छन् । यो त सर्वोच्चमा जस्तो बहस गर्नुपर्ने विषय छैन । हाल चालू बहस त प्रचण्ड बहुमतको सरकार प्रधानमन्त्रीले ढाल्नुपर्ने हो कि होइन र हो भने पनि उनको अधिकार छ कि छैन भन्नेमा मात्र हो । त्यसको कारक तत्व जे सुकै होस्, ज्ञात अज्ञात आन्तरिक वा वाह्य वा दुवै । त्यो सरकार त छैन अहिले । यसलाई अझ यसरी भनौ, कलह र घात प्रतिघातबीच पनि उनी जति बलिया थिए त्यतिबेला अहिले यत्रो स्वर निकालेर जति ठूलो स्वरमा अर्को पक्षलाई गाली गर्न सके पनि कमजोर छन् ।
यसलाई बुझ्न अव अलिकति आन्तरिक तागत के हो भन्ने पट्टी हेरांै । मुलुक हाक्ने मान्छेको ताकत दुई अवस्थामा बलियो हुन्छ । पहिलो, सैनिक शासनमा, त्यो तागत छोटो अवधिको लागि मात्र सार्थक हुन्छ । यसलाई बुझ्न पाकिस्तानलाई हेरे पुग्छ । दोस्रो, जनताले छानेको शासकको हकमा उ त्यतिवेलासम्म मात्र बलियो हुन्छ जति वेलासम्म प्रजातान्त्रिक संस्थाहरु बलियो हुन्छन् । सुझबुझ भएको र अलि परसम्म हेर्नसक्ने नेताको ध्यान जहिले पनि डेमोक्राटिक इन्सटिच्युसनस् बलियो पार्नपट्टि हुन्छ । अनि डेलिभरी हुन्छ जनतालाई, अर्थात् विकासको फल जनतामा पुग्छ । र, जुन भन्ने गरिन्छ जनजिवीकाको कुरा सो रुपान्तरण हुन्छ ।
हो, यसो गर्दा लहडी शासन गर्न असजिलो हुन्छ र विचौलिया या पावर ब्रोकरलाई तर मार्न अप्ठेरो पर्दछ । यहाँनिर शासकको दुर्वलताले गर्दा उ विचौलियाको मोहजालमा पर्दछ । लहडी शासन गर्न प्रजातान्त्रिक संस्थाहरुलाई कमजोर नपारी संभव छैन । कसरी कमजोर पार्ने ? पहिलो काम प्रजातान्त्रिक चेक एण्ड ब्यालेन्स म्येकानिजम अर्थात् सन्तुलन र नियन्त्रण प्रणाली भत्काउनु पर्ने हुन्छ । यसो भएपछि प्रजातन्त्रको प्याराफर्नेलिया अर्थात आवरण मात्र बाँकी रहन्छ । यसको लागि हरेक प्रजातान्त्रिक संस्थाहरुलाई केवल आफ्नो इसारा अनुसार यन्त्रवत चल्ने गराउनु पर्ने हुन्छ । यो काम तब मात्र हुन्छ जव यी संस्थाहरुमा आफ्ना झोले बैठकेबाट भर्न सकिन्छ ।
सत्तारुढ नेकपाभित्रको काटाकाट यस्ता झोले बैठके सब नेता आ–आफ्नै राख्न चाहने भए । अनि आन्तरिक भद्रगोल भयो । यो हेरेर बसेका वाह्य शक्तिले यत्रो हात्ती छिर्ने छिद्र पाएपछि खेल्ने नै भए आफ्नो स्वार्थ लाद्न । उत्तरबाट आए, दक्षिणबाट आए, अनि देश देशान्तरबाट आए । लहडी शासन गर्ने अम्बलमा परेका ओलीजीले भारतीय खुफिया प्रमुखको गोप्य आगमान गराएर गोप्य वार्ता पश्चात ‘राजनीतिक वैतर्णी’ तरिने देखेपछि आफूलाई कामचलाउ बनाउनु भएको छ । यसरी अहिले मुलुकको कमजोर तागत झन कमजोर भएको छ । जसरी कमजोर भएपछि रोग व्यक्तिको शरीरभित्र छिर्छ, त्यस्तै नै हो मुलुकको पनि ।
आन्तरिक तागत जुन अनुपातमा कमजोर हुँदै जान्छ त्यही अनुपातमा स्वार्थरत बाहिरी तागतले कमजोर मुलुकलाई गिजोल्ने, गिलगिलाउने र आफ्नो बोली लाद्दै जान्छन् । गरिव मुलुकको स्रोतको दोहन गर्ने, आफ्नो उत्पादनको मन्डी बनाउने र अझ सकेसम्म जनताको चाहना भनेर वैधानिकता पुर्याएर प्रोक्सी रुल गर्ने सम्ममा पनि उद्दत भएका देखिन्छन् । यस क्रममा दुई शक्तिशाली राष्ट्रको स्वार्थको टक्कर परेपछि अशान्ति, हिंसा र गृहयुद्ध पनि हुने गर्दछ । यसको समकालीन उदारहण अफ्रिकी मुलुकहरूमा हेर्न सकिन्छ ।
यस्तो अवस्थामा स्वार्थ लाद्ने आधार बन्छ सुरक्षाको नाममा, आर्थिक र क्षेत्रीय विकासको नाममा र गरिवको हित गर्ने नाममा । समग्रमा भन्नुपर्दा विश्व इतिहास नै यही हो । अझ हाम्रो जस्तो सानो र कमजोर मुलुकको स्थिति झन् अप्ठेरो छ । प्रशस्त जुझबुझ र कौशल देखाएर मुलुकको हकहित तथा स्वभिमान र पहिचानलाई अक्षुण राख्नुपर्ने हुन्छ । यही विन्दुमा ओलीजी चिप्लिनु भयो । प्रायोजित सरह जि टिभीमा प्रश्नउत्तर दुबै फेला पारेको विद्यार्थीले जस्तो बुलन्दी देखाउनु भयो वहाँले । त्यो वाकपटुता र अग्लोभन्दा अझ अग्लो हुँदै गएको हिमालभन्दा अग्लो राष्ट्रियताको स्वरूप ‘पब्लिक कन्जम्सन’मा निकै लाभप्रद देखिए पनि नाकाबन्दीको बेलाको तागत संगाल्न सक्दैन । कारण वहाँ आफैलाई कमजोर पारिसक्नु भयो । लाग्छ वहाँको उपयोगिता सकिसकेको छ । हरेक सम्बन्ध र हरेक चिज युटिलिटी फङ्सनमा आधारित हुन्छ । अब प्रचण्डलाई सत्तोसराप गरेर थप राजनीतिक माइलेज प्राप्त हुने देखिदैन । ‘क्याप्टिभ अडियन्स’को माझमा थपडी र हाँसोको फौवाराले प्रहसन मात्र सायद राम्रो बन्न सक्छ होला । चिठ्ठीको सपना त उडेको जस्तो भयो । तर त्यो चिठ्ठी कहा छ ? यो प्रश्न अझै ठूलो भएको छ ।