Logo
Logo

वैचारिक विचलनको नमूना


शम्भु श्रेष्ठ

4.9k
Shares

भनिन्छ, ‘रिस खा आफूलाई, बुद्धि खाँ अरुलाई’ यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीसँग ठ्याक्कै मिल्दोजुल्दो छ । माधव–प्रचण्डसँगको रिसले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उनी पछुताउनुको विकल्प छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष तथा प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले पार्टीभित्र होस् वा देशभित्र सिर्जित जस्तोसुकै समस्यालाई पनि समाधान गर्नुपर्नेमा पार्टीभित्रको रिस संसद् विघटन गरेर पोख्नुलाई कसैले पनि ठिक भन्न सक्दैन । त्यसैले संसद् विघटनको विरुद्ध देशव्यापी आन्दोलन चर्किरहेको छ । सबैले संसद् पुनःस्थापनाको माग गरिरहेका छन् । आन्दोलनको राप तापबाट आत्तिएका प्रधानमन्त्री ओलीले आफ्नै गुटका भेलाहरुमा पनि संसद् विघटन गर्नुपर्ने कारणबारे केही बताउन सकेका छैनन् ।

ओलीले आफ्नो भाषणमा कार्यकर्ताहरुलाई हँसाएरै लठ्ठ बनाएका छन् । कार्यकर्ताहरु पनि हाँसोमै रमाइरहेका छन् । ओलीको यो कदमले देशको राजनीतिलाई कस्तो प्रभाव पार्छ भन्नेतिर उनीहरुको चिन्ता देखिँदैन । यो कम्युनिष्ट पार्टीमा आएको वैचारिक विचलनको चरम नमूना हो । यही वैचारिक विचलनको एउटा घटना संसद् विघटन हो । नभए, नेपाली जनताले स्थिर सरकार बनाउन नेकपालाई दिएको दुईतिहाइ मतको प्रधानमन्त्री ओलीले यसरी धज्जी उडाउने थिएनन् ।

संसद् विघटन गरेर भुइँ न भाँडोमा भएका नेताहरुले नयाँ जनादेशको लागि संसद् विघटन गर्नुपरेको भनेर भन्दै आएका छन् । जनताले पाँच वर्षका लागि सरकार चलाउन दिएको मतको सम्मान गर्न नसक्ने हुत्तीहाराहरुले साढे दुई वर्षभित्र संसद् विघटन गरे । अब फेरि कुन मुख लिएर जनतासामु जाने ? लाज लाग्दैन ? जनता भनेका भेडा बाख्रा हुन् र ? यिनले जे गरे पनि सहेर बस्ने ? अब जनताको दुहाइ दिँदै हिँड्ने यी नेतालाई जनताले धुलो चटाउनेछन् । जनता यी नेताभन्दा धेरै चेतनशील र विवेकशील छन् । जनताकै चेतना र विवेकले ७० वर्षपछि नेपालमा गणतन्त्र स्थापित भएको हो । नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको हो । यो व्यवस्था उल्ट्याउन खोज्ने जस्तोसुकै तानाशाहलाई पनि जनताले ढालेर छाड्नेछन् भन्ने इतिहास बुझ्न ढिलो गर्नु हुन्न ।

ओलीले आफ्नो भाषणमा कार्यकर्ताहरुलाई हँसाएरै लठ्ठ बनाएका छन् । कार्यकर्ताहरु पनि हाँसोमै रमाइरहेका छन् । ओलीको यो कदमले देशको राजनीतिलाई कस्तो प्रभाव पार्छ भन्नेतिर उनीहरुको चिन्ता देखिँदैन । यो कम्युनिष्ट पार्टीमा आएको वैचारिक विचलनको चरम नमूना हो । यही वैचारिक विचलनको एउटा घटना संसद् विघटन हो ।

सुनिँदैछ, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्यो भने, ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउने रे, त्यही भएर देउवाले विघटनविरुद्ध युडक आन्दोलन नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन रे । त्यसैले नेपाली कांग्रेसको सभाहरुमा देउवाले अदालतको निर्णय जे आए पनि स्वीकार्ने बताइरहेका छन् । नेपाली कांग्रेसको सभापति, प्रमुख विपक्षी दलको नेता सार्वभौम संसद् विघटन हुँदा समेत निरीह बनेका छन् । पदको लोभमा लोकतन्त्रलाई तिलाञ्जली दिँदैछन् ।

२०१७ पुस १ गते राजा महेन्द्रले ‘कू’ गर्दा बिपी कोइराला कति पीडामा थिए भन्ने कुरा देउवाले मनन् गर्न सकेका छैनन् । अझै उनी ‘झर्ला र खाम्ला’को बाटो कुरिरहेका छन् । यो पनि प्रतिगामी चिन्तन हो । उनले के कुरा बुझेका छैनन् भने, नेपाली जनताले कांग्रेसलाई होइन, कम्युनिष्टलाई दुईतिहाइ मत दिएका हुन् । झण्डै दुईतिहाइ मत नेकपासँग छ र, संसद् पुनःस्थापना भएको खण्डमा नेकपाभित्रबाटै प्रधानमन्त्रीको विकल्प खोज्नु पर्छ । त्यसमा कांग्रेस सहायक बन्नुपर्छ । यो लोकतान्त्रिक चरित्र हो । देश अप्ठेरोमा परेको बेला लोकतन्त्रलाई बलियो बनाउन पनि संसद्मा रहेका सबै दल एक ठाउँमा उभिनुपर्छ । त्यसो नभई प्रधानमन्त्री ओलीले आश्वासन दियो भन्दैमा आकाशको तारा गन्नु कांग्रेसका लागि ठूलो भूल हुनेछ । प्रधानमन्त्री ओली कस्ता स्वभावका नेता हुन् भन्ने कुरा कांग्रेसले बुझ्नुपर्छ ।

नेकपा माओवादीसँग लिखित सम्झौता गरेर पार्टी एकता गरेका ओलीले त्यो सम्झौतालाई नमान्दा यो परिस्थिति आएको हो । लिखित सम्झौता पालना नगर्ने ओलीको मौखिक कुरा पत्याउनु देउवाको अर्को मूखर्ता हो । हुन त देउवामाथि यस्तो आरोप लगाउँदा पाठकले देउवा कहिले ‘बुद्धिमानी’ थिए र ? भनेर प्रश्न उठाउन सक्छन् । तर, मुर्खले पनि नगर्ने दुस्साहस ओलीले गरेका कारण देउवा पनि ओलीको सती नजाऊन् भन्ने सुझाव मात्र हो ।

प्रतिक्रिया दिनुहोस्