मोरङ, ७ माघ । नेकपा विभाजनपछि प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका थिए ।
प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नेकपाका दुई समूहबीच झडप हुन सक्ने सम्भावना रहेको भन्दै प्रदेशसभा सचिवालयले सुरक्षा कडा पारेको छ ।
मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको पृष्ठभूमिमा प्रदेशसभाको बैठक पहिलो पटक बस्न लागेको हो ।
प्रचण्ड–माधव समूहले संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएको हो ।
आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेलाई सांसदहरुलाई कारवाही गरेको राईले बताएका छन् । ओली समूहका राईले कारवाही गरेका सांसदलाई प्रदेशसभा प्रवेश गर्न नदिने चेतावनी दिएपछि झडपको सम्भावना बढेको छ ।
प्रदेशसभा सचिवालयले कुर्सी कसिलो बनाएको छ भने १० जना मर्यादापालक थप गरेको छ ।
बैठक सुरु हुनुअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यव्यवस्थाको बैठकले प्रदेशसभाको आजको कार्यसूची तय गर्ने छ ।