Logo
Logo

बाइडेनको ह्वाइट हाउस यात्रा र नेपालको अपेक्षा


प्रदीपराज दाहाल

1.8k
Shares

काठमाडौं, ७ माघ । अमेरिकी निर्वाचनले विश्वको ध्यान नतान्ने कुरै भएन । नेपाल अछुतो रहनै सक्दैन । ३ नोभेम्बरमा निर्वाचन हुँदै गर्दा नेपालीलाई पनि अधिक चासो थियो । डोनाल्ड ट्रम्प र जो बाइडे मध्ये ४६औ राष्ट्रपति को बन्लान् ? भन्ने मात्र होइन निर्वाचित राष्ट्रपतिको नीतिले पार्ने प्रभाव लगायत अनेक कारणले चासोको बिषय बनेको थियो ।

विश्व शक्तिराष्ट्र अमेरिकको निर्वाचनसँग नेपालीपक्षले चासो राख्नुका कारण धेरै छन् । राष्ट्रपति ट्रम्पको कार्यकालमा लिइएका आप्रवासी नीतिदेखि इन्डो–प्यासिफिक तथा एमसीसी जस्ता नेपालसँग प्रत्यक्ष सम्बन्ध राख्ने विशेष मुद्धाका कारण नेपालीको चासो रहनु स्वभाविक हो । ट्रम्पभन्दा राम्रो छवि भएको बताइने बाइडेन निर्वाचित हुँदा अमेरिकाको नेपालदृष्टिमा परिवर्तन हुने अपेक्षा समेत गरिएको छ ।

बाराक ओबामाको कार्यकालमा बाइडेन उपराष्ट्रपति थिए । उपराष्ट्रपति हुँदा बाइडेनले कुटनीतिक क्षेत्रमा निर्वाह गरेको भूमिका अझै चर्चा हुन्छ । उनी सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष पनि थिए । ४५ वर्षे राजनीति यात्रामा विश्वका अग्रणी नेतृत्वसँग कुनै न कुनै रुपमा सहकार्य गरेको बताउने बाइडेनले गरेका निर्णयहरु अर्थपूर्ण छन् ।

बाइडेनले सन् १९९१ खाडी युद्धको विपक्षमा मतदान गरेका थिए । खाडी युद्धको विपक्षमा मतदान गर्ने उनी पहिलो अमेरिकी हुन । सन् २००३ मा इराकमा अमेरिकी अतिक्रमणको समर्थन गरेका बाइडेन आफ्नै निर्णयबाट पछि हट्दै इरामकमा अमेरिकी संलग्नताको आलोचना गरे । उग्रअमेरिकी युद्ध चाहनाको विपक्षमा उभिएका बाइडेनलाई शान्तिकामी भन्ने गरिन्छ । उनका अधिकांश नीति मध्यमार्गी हुने भएकाले अमेरिकी विदेश नीतिमा बाइडेन कार्यकालसँग आशा गर्ने धेरै छन् । चीनसँग पछिल्लो ४ वर्षमा बिग्रेको सम्बन्ध र उत्तरकोरियासँग टुंग्याउनुपर्ने बाँकी विषयमा बाइडेन नीतिले सकारात्मक सन्देश दिनसक्छ ।

बाइडेनसँग नेपाली अपेक्षा
बाइडेनको कुटनीतिक विशेषतासँग नेपाल सकारात्मक अपेक्षा राख्दछ । बाइडेन राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपति र प्रधानमन्त्रीले दिएको शुभकामना सन्देश समान्य शिष्टाचारको निरन्तरता मात्र भएपनि बाइडेनप्रति नेपाली नागरिकको चासो अपेक्षायुक्त छ ।

पछिल्लो चार वर्ष नेपाल र अमेरिकाबीच सन्देहपूर्ण सम्बन्ध छ । इन्डो–प्यासिफिक रणनीति, एमसीसी, आप्रवासी र भारतीय दृष्टिकोणबाट नेपाल हेर्ने अमेरिकी प्रशासनमा परिवर्तन नेपाली अपेक्षा हो । जलवायु परिवर्तनमा अमेरिकाले अवलम्बन गर्ने नीतिप्रति पनि नेपालले अपेक्षा गर्छ ।

ट्रम्प प्रशासनले अघि सारेको इण्डो–प्यासिफिक रणनीतिलाई चीन घेर्ने रणनीतिको रुपमा ब्याख्या गरिन्छ । यो विषयमा पनि बाइडेन प्रशासनले सकारात्मक निर्णय गर्नसक्ने अपेक्षा रहन्छ । एमसीसी र बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) लाई अमेरिका र चीनको प्रतिस्पर्थी प्रोजेक्टको रुपमा हेरिने भएकाले नेपालले एमसीसीबारे निर्णय गर्न सकेको छैन । बाइडेनको कार्यकालमा यस विषयमा सकारात्मक निर्णय हुनसक्छ ।

नेपालप्रति अमेरिकी दृष्टिकोण परिवर्तन होला ?
दक्षिण एसियाली मुलुकमा भारतको दबदबा छ । अमेरिकाले नेपाल लगायतका राष्ट्रलाई भारतीय नजरबाट नियाल्ने गरेको छ । जसका कारण अमेरिकासँग राम्रो सम्बन्ध भएपनि नेपालले कुनै फाइदा लिन सकेको छैन । त्यसैले अमेरिकाले अघि सार्ने हरेक प्रस्तावलाई संशयले हेर्नुपरेको छ । बाइडेन आफैमा विदेश मामिलामा पोख्त भएकाले उनले हरेक देश र त्यहाँको प्रणालीलाई फरक तरिकाले हेर्ने अपेक्षा गरिएको छ । त्यसो भएमा अमेरिकाले नेपालको अस्तित्व स्वीकार गरेको आभास अरुले पनि गर्नेछन् ।

नेपालले के गर्न सक्छ ?
नेपालले जलवायु परिवर्तको मुद्दामा अमेरिकालाई पेरिस सम्झौता अन्तर्गत रहेर धारणा राख्न सक्नुपर्छ । हिमालयको देश भनेर चिनिने नेपाल र जलवायु परिवर्तन न्यूनिकरण गर्ने विषयमा बाइडेनको समान धारणा छ । यसमा नेपालले आफ्नो धारणा स्पष्ट राख्दा केही खास परिवर्तन नभएपनि त्यो बाइडेनलाई आकर्षित गर्न सक्ने मुद्दा हुने कुटनीतिज्ञको दावी छ ।

ट्रम्प प्रशासनले अमेरिकामा आप्रवासीको संख्या घटाउन र आप्रवासीको निर्वासनदर बढाउन अनेक नीति प्रस्तुत गर्यो । आप्र्रवासी अध्यागमन नीतिहरू मध्ये सेप्टेम्बरमा लागु गरिएको नीतिबाट नेपाली अधिक प्रभावित भए । अमेरिकामा अध्ययनरत ११ हजारभन्दा बढी नेपाली विद्यार्थीले उक्त नीतिको प्रभाव सामना गर्नुपर्यो । ट्रम्पको उक्त कदम बाइडेन कार्यकालमा सुधार हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्