Logo
Logo

काभ्रेमा निर्वाचनको चहलपहल शुरु


- दृष्टि न्युज/संवाददाता

315
Shares

काभ्रे, ७ माघ । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम-२०७७ अनुसार आजदेखि आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ ।

पहिलो चरणको काम मतदानस्थल र केन्द्रको अवस्था तथा स्थानीय तहहरुबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले बताए ।

सो क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रतिनिधि नारायण पाण्डे र नेपाली कांग्रेसका प्रतिनिधि महेश पौडेलले निर्वाचन कार्यालयले गरेको आग्रहका आधारमा स्थानीय तहहरुले पठाएको आधिकारिक पत्रबाहेक अरु मतदानस्थललाई अहिलेका लागि नचलाउन सुझाव दिए ।

उक्त छलफलका क्रममा मतदानस्थल र केन्द्रसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकका लागि दाबी विरोध कार्यक्रमअनुसार यही माघ १५ देखि २६ गतेसम्म स्थानीय तहका केन्द्र र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सञ्चालन हुने जनाइएको छ ।

मतदानका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि शुद्ध मतदाता नामावली तयार गर्न त्रुटि सच्याउने र दोहोरो भएको पाइएमा हटाउने कार्यका लागि नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

विसं २०७४ को निर्वाचनमा काभ्रेपलाञ्चोकमा दुई लाख ७२ हजार २९२ मतदाता सङ्ख्या रहेकामा अहिले नयाँ दश हजार २६३ जना थप भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्