जनकपुरधाम, ८ माघ । चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् ।
सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् ।
बाँकी रहेको बक्यौता रकम भुक्तानी नपाएपछि उखु किसान सङ्घर्ष समितिले बिहीबार विज्ञप्ती जारी गरी पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमा भनिएको छ ।
आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ ।
त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।