सर्लाही, ९ माघ ।
सर्लाहीको इलाका प्रहरी कार्यालय बरथहवामा कार्यलयभित्रै बर्दीमै तास खेल्ने प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) ले दिएको अधिकारको प्रयोग गरी १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि ६ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भिडियो खिच्ने र मिडियासम्म पु¥याउने पाँच जनालाई हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने, तास खेल्ने पाँच जनालाई नसिहत र तास खेलेको हेर्ने दुई जनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। अनुसन्धानका क्रममा भिडियो एक वर्ष पहिला नै खिचेको पाइएको पनि उनले बताए। हालै सो भिडियो बाहिर आएपछि छानबिन थालिएको थियो ।