Logo
Logo

हुम्लामा निर्वाचनको तयारी तीव्र


- दृष्टि न्युज/संवाददाता

189
Shares

हुम्ला, १० माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहँदा निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र पारेको छ । आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयहरुले पनि निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न थालेका छन् ।

हुम्ला निर्वाचन कार्यालयले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारी थालेको छ । बैशाख १७ र २७ गतेका लागि सरकारले प्रतिनिधिसभाको निर्वाचन तोकेपछि जिल्ला निर्वाचन कार्यालयहरु तयारीमा जुटेका हुन् ।

सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए ।

कार्यालयले माघ १५ देखि २१ गते मतदाता नामावली अद्यावधिक, दाबीविरोध, त्रुटि सच्याउने र दाबी गरी विरोध गरेर हटाउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको थापाले बताए ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ ।

नाम दर्ता अधिकारीको कार्यालय सार्वजनिक बिदाका दिनमा समेत बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मका लागि खुला रहने छ । निर्वाचन कार्यालय हुम्लाले सातवटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिए ।

जिल्लाका सात गाउँपालिकाका ४४ वडा रहेको हुम्लामा ५२ मतदान केन्द्र छन् । यो पटक एउटा मदातन केन्द्र थप गर्न माग गरीएकोले स्वीकृत हुने वा नहुनेमा केही जानकारी नभएको बताइएको छ ।

प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन् । उनीहरूलाई माघ ११ गते तालीम तोकिएको छ । फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्नेछ । नाम्खा गाउँपालिका ११ मतदान केन्द्र सिमकोटका आठ, खार्पुनाथमा पाँच, सर्केगार्डमा ११, चङ्खेली गाउँपालिका सात, अदानचुलीमा छ र ताजाँकोट गाउँपालिकामा छ मतदान केन्द्र निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्