भारतीय एसएसबीको अवरोध
आफ्नै भूमिमा पनि बस्न नपाउने नियति सीमा क्षेत्रका कैयौं नेपालीले भोग्दै आएका छन् । नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमण गरेको भारतले सीमा क्षेत्रका अन्य नेपाली भूमि पनि आफ्नो कब्जामा पार्न खोेजेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवमा भारती एसएसबीले तीन मुक्त हलिया परिवारलाई घर बनाउन अवरोध गर्दै आएको छ । सीमा क्षेत्र नजिकै दशकौंदेखि बसोबास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निमार्णमा अबरोध गरेपछि उनीहरुको थातथलो नै उठिबास हुने अवस्थामा छ । तर, सीमा रक्षक मुक्त हलिया परिवारले भूमि छाडेका छैनन् । नेपालको भूमि जोगाउन प्लाष्टिककै छानो हालेर भएपनि बसेका छन् ।
जस्तापाता लगाउन नखोजेका होइनन, तर भारतले अवरोध गर्छ । पुनःस्थापन कार्यक्रम अन्र्तगत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराइसकेको छ । दुई वर्षअघि घर बनाउन सुरु गरेको भएपनि एसएसबीको अवरोधका कारण अहिलेसम्म घर बनेको छैन ।
८ साउन २०७७ मा टनकपुरको चर्चित बाँध ब्रह्मदेव क्षेत्रमा तारबार गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी )ले निहुँ खोज्यो । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवको सिद्धनाथ सामुदायिक वनले आफ्नो कार्यक्षेत्रको सार्वजनिक जमिन संरक्षण तथा पर्यावरण संरक्षणका लागि तारबार गर्दा भारतीय एसएसबीले त्यसो नगर्न धम्की दिएको थियो ।
अहिले फेरि ब्रहमदेवमै भारतीयले मुक्त हलिया परिवारलाई घर बनाउन अवरोध गरिरहेको छ । तर, यो पहिलो पटक भने होइन । २०७५ सालदेखि हलिया परिवारलाई घर बनाउन भारतले रोकेपनि नेपाली पक्षबाट भने त्यसको समाधानका लागि पहल भएको पाइँदैन ।
घर निर्माण सुरु गरेकै वर्ष भारतीय सीमा सुरक्षा बलले अबरोध गरेपछि मुक्त हलियाका तीन परिवारको घर बनाउने काम अधुरै छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले हातहतियार सहित घरमै पसेर निर्माणमा अवरोध पुर्याउँदा हलिया परिवारले प्लास्टिकको छानो राखेर दिन काट्दै आएका छन् ।
मुक्त हलिया परिवारका तीन वटा घर मध्ये दुई वटा घरको जस्तापाता कालो प्लाष्टिकले छोपिएको छ । बाँकी एक घरमा जस्ता हाल्नै पाएको छैन । प्लास्टिकले छोपेरै वर्षा हिउँद बिताउँदै आएका छन् । भारतीय सुरक्षाकर्मीले दैनिक घरमै पुगेर जग्गा छोड्न धम्की दिदै आएका छन् । तर, उनीहरू वर्षौदेखि बस्दै आएको जग्गा छोड्न तयार छैनन् । अवरोध कारण घरमा मुक्त हलिया परिवारले ढोकासमेत राख्न सकेका छैनन् । कहिले सीमानाको वहाना बनाएर धम्काउने र कहिले गस्तीको नाममा घरमै पसेर धम्काएर जाने गरेको उनीहरु बताउँछन् ।
सन् १९९१ मा टनकपुर बाँध निर्माण गर्ने बेला भारतीय पक्षले बाँधका लागि आवश्यक क्षेत्र भनेर निर्माण गरेको चिन्हलाई भारतले सीमा स्तम्भ बताउँदै नेपाली भूभाग मिचेकोे भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवका वडाध्यक्ष राम नाथले बताए ।
यसरी भारतीय पक्षले एकोहोरो नेपाली भूमिमा आफ्नो हैकम जमाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवाद’ मै प्रश्न उठ्न थालेको छ । भारतले लगातार नेपाली भूमिमा ‘दागा धर्न’ छोडेको छैन ।