काठमाडौं, १० माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शाली नदीमा गरिने माधवनारायण व्रत गर्न चाहनेले शनिबारदेखि नाम लेखाउनुपर्ने भएको छ ।
विगत वर्षमा पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन व्रत बस्न चाहनेले नाम लेखाएर सहभागी हुन सक्थे । यसपटक कोरोना भाइरसको महामारी जारी रहेकाले एक साताअघि नै नाम लेखाएर पिसिआर÷एण्टीजेन परीक्षण गर्न लागिएको हो ।
नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने श्री माधवनारायण व्रत तथा शाली नदी समितिले जनाएको छ । निमोनियाको लक्षण छ कि छैन भनी एक्सरे रिपोर्ट समेत साथमा हुनु अनिवार्य गरिएको समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले राससलाई जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका विभिन्न रोगका बिरामीलाई व्रतमा सहभागी नगराइने उनको भनाइ छ । शनिबारदेखि सोमबारसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने छ । विगत वर्षमा महिला, पुरुष गरी करिब ३०० जनाले एक महिनासम्म कठोर नियम पालना गरेर माधवनारायण व्रत गर्थे ।
शंखरापुर नगरपालिकाका नगरप्रमुख सुवर्ण श्रेष्ठ स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र व्रत बस्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै मेला भर्न आउनेलाई पनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन सचेत गराइनुपर्ने बताउँछन् । स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला गर्न नगरपालिकाले समितिसँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको उनले सुनाए । वर्तालुलाई क्वारेन्टाइनको स्वरुपमा राख्न नगरपालिकाले सहयोग गर्ने भएको छ ।
पशुपतिलगायत मठ मन्दिर एवं चलचित्र घरसमेत खुलेको अवस्थामा मेला बन्द गर्न नसकिए पनि स्वास्थ्य सुरक्षामा ध्यान दिएर दूरी कायम गरिनुपर्ने नगरपालिकाले जनाएको छ । नियमित चलेको संस्कृति संरक्षणका लागि भए पनि मेला र व्रत गर्न लागिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । मेलाका अवसरमा नगरपालिकाले बजार एवं साँखु चल्ने सार्वजनिक यातायातको नियमित अनुगमन गर्ने भएको छ ।
विगत वर्षमा एकै दिनमा पाँच लाखसम्म भक्तजन शाली नदी दर्शनमा आउने गरेका थिए । समितिले वर्तालु स्नान गरिरहेका बेला मोबाइलबाट भिडियो खिची अतिरञ्जितरुपमा प्रस्तुत गर्ने गरिएकामा त्यसो गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने जनाएको छ । यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् माघ १५ गतेदेखि शाली नदी मेला लाग्ने भएको छ ।
वर्तालुलाई पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिने परदेश यात्रा पनि यस वर्ष समितिले सुरक्षितरुपमा गराउने जनाएको छ । वर्तालुले ती स्थानमा खाली गोडा पैदल यात्रा गर्नुपर्ने व्रतविधि छ । परदेश यात्रामा कोरोना महमारीका कारण वर्तालुका परिवारलाई सहभागी नहुन पनि समितिले अनुरोध गरेको छ ।