काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासित गर्ने तयारी गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बोलाइएको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई नेकपाको साधारण सदस्यतबाट निष्कासन गर्ने तयारी गरेको हो ।
बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले दृष्टि न्यूजलाई जानकारी दिए ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते पार्टीको नीति विपरित प्रतिनिधिसभा विघटन गरेकाले प्रचण्ड–माधव समूहले पटक–पटक स्पष्टिकरण सोधेको थियो ।
यसअघि ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष चयन गरेको यो समूहले जवाफ नआएकाले साधारण सदस्यबाट समेत हटाउने भएको हो । ओली समूहले पनि कार्यकारी अध्यक्षबाट प्रचण्डलाई हटाएको बताउँदै आएको छ ।
प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजित बनेको छ । तर, औपचारिक रुपमा निर्वाचन आयोगले कुन समूह आधिकारिक भन्ने निर्णय गर्न सकेको छैन । दुबै समूहले आफू नै आधिकारिक भएको दाबी गर्दै आएका छन् ।