Logo
Logo

हुम्ला सर्केगाडको स्वास्थ्य चौकी कार्यालय सहायकको भरमा


- दृष्टि न्युज/संवाददाता

378
Shares

हुम्ला, ११ माघ । स्वास्थ्यमा हरेक नागरिकको पहुँच रहने सरकारी नीति छ । तर, हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ६ मा रहेको स्वास्थयचौकीमा दुई महिनादेखि स्वास्थ्यकर्मी नै छैनन् ।

७ कर्मचारीको दरबन्दी गरेको बराइ स्वास्थ्यचौकी एक कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । यहाँ एक जना हेल्थ असिसटेन्ट (एचए), दुई जना अनमी, दुई जना अहेब र एक कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।

 

तर, मंसिर १५ गतेयता स्वास्थ्यकर्मी विहिन हुँदा स्थानीयले सामान्य उपचार गर्न पनि पाएका छैनन् । अहिले कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो ।

कार्यालय सहयोगी रोकायाले सिटोमलबाहेक अन्य औषधि नचिनेका कारण सेवा लिन पुगेका बिरामीले दुई महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको छ ।

बराइगाउँका स्थानीयवासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे एक घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका छन् ।

केही त जिल्ला अस्पताल सिमकोट नै जानुपर्ने बाध्यता रहेको ६० वर्षीय स्थानीयवासी राना बुढाले गुनासो गरे । उनलेभने, ‘दरबन्दी अनुसार स्थानीयपालिकाले स्वास्थ्यकर्मी पठाएन । सामान्य उपचारका लागि पनि एक–डेढ घण्टा लगाएर हिड्नुपर्छ ।’

दुई जनाको दरबन्दी रहेको अहेव समायोजन भएदेखि गाउँपालिकाले पठाएको छैन । दुई करार अनमी कर्मचारी स्थानीयवासी भए पनि उनीहरु उपस्थित नहुने गरेको बताइएको छ ।

कार्यालय सहयोगी रोकायाले आफू एक्लै भएकाले काम गर्न गाह्रो भएको, सिटामोलबाहेक अन्य औषधि चिन्न नसकेकाले बिरामी आउँदा समस्या हुने गरेको बताए। गाउँमा यतिबेला बिरामीको चाप बढेको छ । वडा र गाउँपालिका मौन बस्नुका साथै यस क्षेत्रमा स्वास्थ्यको स्थिति डामाडोल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्