Logo
Logo

शाली नदी मेलामा कोरोना प्रभाव : ५० जना मात्र ब्रत बस्न पाइने


- दृष्टि न्युज/संवाददाता

819
Shares

काठमाडौं, ११ माघ । यस वर्ष काठमाडौको शाली नदी मेलामा ५० जनाभन्दा बढी ब्रत बस्न नपाउने र पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाएर मेला सञ्चालन गर्न लागिएको माधवनारायण स्वस्थानी ब्रत तथा शाली नदी सुधार समितिले जनाएको हो । यसअघिका वर्षमा ४ सय हाराहारी ब्रत बस्ने गरेका थिए । पौष शुक्ल पूर्णिमाका दिनदेखि यही १५ माघमा हिन्दु धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजाआराधना आरम्भ गर्दै छन् । कोभिड– १९ महामारीका कारण १५ माघदेखि १ महिनासम्म चल्ने शाली नदी मेलाका लागि समितिले ५० व्रतालु राख्ने गरी पूजा सञ्चालन गर्ने कार्यविधि बनाएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

मेलामा जम्मा ५० जना ब्रतालुलाई समावेश गरिनेछ, ब्रत बस्न इच्छुक हुनेले भोलि (सोमबार) सम्म आवेदन दिइसक्नुपर्नेछ । ब्रतका लािग २० देखि ५० वर्ष उमेर समूहका मानिसलाई मात्र समावेश गर्न लागिएको समितिले जनाएको छ । श्रेष्ठका अनुसार समितिले उनीहरूको पीसीआर, एक्सरे रिपोर्ट अनिवार्य गरिएको छ । ब्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवान्को दर्शन गर्न व्यवस्था मिलाइएको छ भने ब्रतालु र भक्तजनबीच दूरी कायम गराउन ब्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।
साथै, मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा, स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । मेला सञ्चालन भीडभाड नहुने गरी व्यवस्थापन गर्ने र माधवनारायण व्रतालु नुहाउने पोखरीमा यस वर्ष प्रतिबन्ध लगाउने गरी कार्यविधि अपनाउनसमेत जिल्ला प्रशासन कार्यालय काठमाडौंँले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्