काठमाडौं, १२ माघ । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ । हालसम्म विश्वमा २१ लाख १२ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ६८८ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ७४ लाख ६४ हजार ९४ पुगेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७७ हजार ३०१ संक्रमित थपिएका छन् ।
बेलायतमा संक्रमितको अवस्था
बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ हजार ३४८ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९७ हजार ३२९ पुगेको छ ।
यस्तै त्यहा कोरोना संक्रमितको संख्या ३६ लाख १७ हजार ४६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३ हजार ५५२ संक्रमित थपिएका छन् ।
कोरोनाको खोप अभियान स्थगित
यूरोपका विभिन्न देशमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित भएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने उल्लेख गरेको छ । युरोपका विभिन्न ठाउँमा फाइजर र बायोएनटेकले प्रतिवद्धता गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो ।
अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई अहिलेसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन । संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ । यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ । मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिनसमेत बन्द गरिएको छ ।
गएको हप्ता फाइजरले आउँदा केही हप्ताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो । उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ ।
इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन् । युरोपेली युनियन ९ईयू०ले पनि स्वीकृत भइसकेका कोरोना भाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।