सिङ्गै पहाड खाएर पनि मानिसको चित्त बुझ्दैन,
सिङ्गै सागर पिएर पनि उसको तिर्खा मेटिँदैन ।
–तिब्बती उखान
तराँचे मध्य नेपालको लमजुङ जिल्लामा पर्ने एउटा सानो गाउँ हो, जुन गाउँ मस्र्याङ्दी नदीको देब्रे किनारमा अवस्थित छ । यस गाउँबाट केवल १४ किलोमिटर उत्तरमा मनासलु र हिमालचुलीका डरलाग्दा हिउँ चुचुराहरू देखिन्छन् । हो, यही तराँचेमा ठूलाको जन्म भएको थियो, जहाँ उसका पिताले लाहुरे भएर कमाएको पैसाले राम्रो बन्दोबस्त गरेका थिए । पहिलो विश्वयुद्धमा बूढा फ्रान्स र प्यालेस्टाइन पुगेका थिए र सन् १९१९ को बजिरिस्तानको लडाईँमा बहादुरी देखाएबापत उनको नाम सरकारी पत्रमा समेत उल्लेख गरिएको थियो । ठूलाका दुईजना दाजुहरूले पनि दोस्रो विश्वयुद्धमा बर्मा र बोर्निओका जङ्गलहरूमा लडाइँ गरिसकेका थिए । यसरी परिवारका दुवै पुस्ता लाहुरे भएकाले घरमा युद्धका थुप्रै तक्माहरू जम्मा भएका थिए र ठूला उनीहरूले युद्धमा गरेका बहादुरीका बखान सुन्ने गथ्र्यो । उनीहरूले बयान गरेका टाढाटाढाका अचम्मका ठाउँ र मानिसहरूका कुरा सुनेर ऊ मक्ख पथ्र्यो ।
मस्र्याङ्दीको गर्जना, गह्रैगह्रा परेका खेतबारीहरू र हिमरेखासम्म पुगेका वनले ढाकिएका पहाडहरूबीचको वातावरणमा त्यस बेला ठूला रहन्थ्यो । हिमालचुलीको सेतो टाकुरापछाडि के छ र मस्र्याङ्दीको डरलाग्दो भेल कहिले आउँछ भन्ने कुराको ज्ञान उसलाई धेरै कम थियो । साथीहरूसँग खेलिरहनु र गाउँ वरिपरि गाईवस्तुहरू चराइरहनुमा नै ऊ सन्तुष्ट देखिन्थ्यो । गाउँका केटाहरूमध्ये मानिएको अगुवा थियो ठूला । किनभने, ऊ सबैभन्दा टाढा ढुङ्गा हान्न सक्दथ्यो । त्यस हुलमा आफ्नो उच्चता कायम राख्न ठूला सबभन्दा अग्लो रूख चढ्दथ्यो, सबभन्दा अग्लो कान्लाबाट हामफाल्दथ्यो र प्रायः उसले लडाइँ पनि खेल्नुपर्ने हुन्थ्यो ।
ती केटाहरू स्वछन्दतापूर्वक घुमफिर गरिरहन्थे, गाउँका फलफूल चोर्थे र खोलामा माछा र गँगटाहरू मार्ने गर्थे । तिनीहरू युद्ध र सिकार तथा अन्य त्यस्तै खेलहरू खेल्दथे । एकपल्टको कुरो हो, चराखेल खेल्दा ठूला निकै ठूलो दुर्घटनामा प¥यो । त्यस चराखेलमा ठूला चोर काग र अन्य केटाहरूचाहिँ गुँड बनाउने सानासाना चरा बनेका थिए । केटाहरूले गुँडहरू बनाएर त्यसमा ससाना गोलो बगरे ढुङ्गाका फुलहरू राखी लुुक्न गए । जब ठूला गुँडका फुलहरू चोर्न रूखमा चढ्यो, तब ती अन्य केटाहरू चराले झैँ हातका पखेटाहरू हल्लाउँदै चोर काग बनेको ठूलालाई आक्रमण गर्न हुर्रिएर आए । त्यस मौकामा अत्तालिँदा ठूलाले आफूलाई उड्न सक्ने कागझैँ ठान्यो र रूखबाट एक्कासि हामफाल्यो । तर, तल जमिनमा रहेको ठूलो ढुङ्गामा ऊ बेसरी बज्रिन पुग्यो र त्यसबाट उसको निधारमा निकै ठूलो चोट पर्न गयो । त्यो चोट केही महिनापछि निको भए पनि त्यसको दागचाहिँ सधैँका लागि रहिरह्यो ।
त्यसो भए पनि ठूलाको चकचकेपना र खेलवाडप्रतिको मोहलाई यस्ता दुर्घटनाहरूले घटाउन सकेनन् । चराचुरुङ्गीहरूलाई पासोमा पार्न ऊ सिपालु भएर निस्क्यो र कोही बेला छिमेकीका कुखुराहरूको सिकार गर्न पनि ऊ हिचकिचाउँदैनथ्यो । वसन्त ऋतुमा साथीहरूसँग चराका गुँडहरू खोज्न जङ्गलतिर जान ऊ खुब मज्जा मान्थ्यो । तिनीहरू चराको गुँडमा तीनहाँगे काठ राखेर त्यसमा घोडाको पुच्छरको पासो थाप्थे र जब चरा गुँडमा बस्न आउँथ्यो, त्यस पासोमा फस्दथ्यो । ससाना बचेराहरू भएका गुँड भेटिएमा चाहिँ तिनीहरूका माउ चराहरूलाई कहिल्यै पासोमा फसाउँदैनथे र त्यसै छाडेर घर फर्किन्थे । बरु, ती बचेराहरूको प्वाँख लागेपछि तिनलाई घरमा पाल्न ल्याउने गर्थे ।
सबभन्दा राम्रो समय शरद ऋतु हुन्थ्यो, जुन बेला गाई, भैँसी, भेडाबाख्रा र घोडाहरू लेकतिरका खर्कहरूबाट झर्थे र गाउँका खेतबारी हुँदो चर्दथे । गाउँनजिकै गोठहरूमा दूध र नौनी घिउको छेलोखेलो हुन्थ्यो र केटाहरू दौडिरहेका घोडाहरू खेद्ने, पक्रने र चढ्ने गर्दथे । त्यस समयमा सयपत्री फूलहरू फुलेर गाउँ नै ढकमक्क हुन्थ्यो र यसै बेला दसैं र तिहारभरि परिवारका सदस्यहरूको पुनर्मिलन हुन्थ्यो ।
शरद्कालमा मृग, भालु र बनेलका सिकार गर्ने जेठापाकाहरूको चलनै थियो । ठूलाको घरमा सिकार खेलेर मारिएका विभिन्न जन्तुका सिङहरू थुप्रै जम्मा भएका थिए । केटाहरू ठूलाबडाले सिकार खेलेको सिको गर्न मन पराउँथे र त्यस्तै सिकारबाजी खेल खेल्दथे । केटाहरूमध्ये एकजना मृगको सिङ टाउकामा बाँधेर भाग्दथ्यो र अन्य केटाहरूचाहिँ सिकारी र कुकुरहरू भएर त्यसलाई खेत, बार तथा जङ्गलैजङ्गल लखेट्ने गर्दथे ।
ठूला जहिले पनि मृग बन्न रुचाउँथ्यो, उसको अति चाँडो दौडन सक्ने र कठिन बार तथा डिलहरू नाघ्न सक्ने क्षमताले गर्दा उसलाई समात्न उसका साथीहरूलाई हम्मे पर्दथ्यो । कुनै साथी उसको नजिक आइपुग्यो भने कुनै उपाय नलाग्ने स्थितिमा मृगले सिकारी कुकुरलाई लात्तीले हानेजस्तै गरी उसले पनि त्यस साथीलाई लात्तीले मज्जासँग भकुर्ने गर्दथ्यो ।
दाजुहरू सिकार खेल्न जाँदा आफूलाई पनि लिएर जाने आग्रह ठूला घरिघरि गरिरहन्थ्यो । एकपल्ट माइला दाजुसँग कालिजको सिकारमा उसले जान पायो । कालिजका विष्टा फेला परेको ठाउँमै कालिजहरू बास बस्छन् भन्ने अनुमान लगाएर उनीहरू त्यही ठाउँमा गएका थिए ।
माइलाले भरुवा बन्दुक र ठूलाले एउटा टर्चलाइट बोकेको थियो । त्यस ठाउँमा पुग्दा प्रायः अँध्यारो भइसकेको थियो । माइलाले ठूलालाई टर्चलाइट रूखतिर बाल्न लगायो । टर्चलाइट लगाउँदा रूखका हाँगाहरूमा लहरै कालिजहरू बास बसेका देखिए । टर्चलाइटको प्रकाशमा ती चराहरू छक्क परेर आँखा झिम्काउँदै बसिरहे । माइलाले ताकेर बन्दुक पड्कायो । तर, चराहरू खसेनन्, खालि बन्दुकको आवाज मात्र आयो । बन्दुकको घोडीमा बारुद पड्कन गएछ र माइलाको अनुहार मात्र कालै भयो । भाग्यवश उसलाई नराम्रो चोट लागेन । जब दुवै भाइले थोत्रो बन्दुकलाई सराप्न थाले, तब चराहरू पूर्ण चेतनावस्थामा आएर अँध्यारोमै उडेर गए ।
अर्कोपल्ट, ठूलाका जेठा दाजु भारतीय फौजबाट छुट्टीमा घर आएका बखत ठूलाले फेरि सिकार खेल्न जाने मौका पायो । जेठा दाजुले नयाँ बन्दुक किनेर ल्याएका थिए र त्यस बेला सिकार खेल्ने समय नभए तापनि उनलाई आफ्नो तारो हिर्काउन सक्ने सीप देखाउने उत्सुकता थियो ।
एक दिन ठूलाले गाउँको नजिकै बारीमा कलिलो मकै खाँदै गरेको लङ्गुर बाँदरलाई देखाइदियो । जेठा दाजु अति खुसी भए । ठूलालाई साथमा लिएर जेठो दाजु नयाँ बन्दुक लिई त्यस लङ्गुरलाई हिर्काउन हिँडे । बन्दुक लिएको मान्छे देखेर त्यो लङ्गुर चाँडोचाँडो नजिकैको जङ्गलमा पसी एउटा अग्लो रूखमा चढेर बस्यो । ठूलालाई पछाडि नै बस्न भनेर जेठा दाजु चलाखीपूर्वक त्यस रूखतिर बढ्न थाले । आफूतिर त्यस बाँदरको ध्यान आकर्षण गरी राख्न ठूलाचाहिँ उफ्रँदै नाँच्दै र अनुहार बिगार्दै बस्यो । यो षड्यन्त्र काम लाग्यो । ठूलाले ढ्याङ्ग आवाजसँगै त्यो बाँदर भुइँमा खसेको मात्र देख्यो ।
दुई आँखाको बीचमा गोली लागेर बाँदर मरेछ । ठूलाले त्यसलाई त्यसै छाडी राख्न चाहेन र मरेको बाँदरलाई पुच्छरमा समातेर तान्दै गाउँको गल्लीमा ल्यायो । त्यहाँ ल्याएर बाटो छेवैको एउटा ढुङ्गामाथि पछाडिपट्टिबाट लठ्ठीले अड्याएर त्यस बाँदरलाई बसेको झैँ बनाइराख्यो । साँझतिर मानिसहरू कामबाट गाईगोरु र भैँसीहरूसँग फर्केर आउँदा पशुहरू तर्सिएर भाग्न लागे र मानिसहरू एक्कासि भएको त्यस खैलाबैलादेखि अत्तालिए । केही बेरपछि मात्र कारण पत्ता लाग्यो र तिनीहरू एकैचोटि आफ्ना कोदाली, हलो र लौराहरूसँगै त्यस बाँदरमाथि झम्टिन पुगे । तर, पहिलो चोटमै त्यो बसिरहेको बाँदर पुकलुक्क ढल्दा तिनीहरू झन् छक्क परे । डिलमथि बसेर ठूला मरीमरी हाँसेको देख्दा मात्रै पो तिनीहरूले आफूलाई मूर्ख तुल्याइएको कुरा चाल पाए र सबैजना गललल हाँसे ।
एक दिन गाउँदेखि सबैभन्दा टाढा बाह्रपोखरी लेकमा पर्ने आफ्नो घरको भेडीगोठसम्म जान ठूलाले आँट ग¥यो । त्यहाँ पुग्न एक दिन लाग्दथ्यो र आवश्यक सरसामान लिन आएको घरकै गोठालाको साथ लागी ऊ त्यसतर्फ हिँड्यो । गुराँस र खस्रुको जङ्गल पार गर्दै जानपर्ने बाटो एकनाले उकालो थियो । उपत्यकामा रहेको बादल माथिमाथि हिँड्दा ठूला अति प्रफुल्लित भयो । रिमरिम साँझ पर्दा उनीहरू गोठमा पुगे जहाँ ठूलाले गन्नै नसक्ने संख्यामा भेडाबाख्राहरू खर्किएका थिए । तीनओटा डरलाग्दा भोटे कुकुरहरूले गोठमा पहरा दिन्थे र तिनीहरू भुक्दा तिनको आवाज पहाडहरूबाट प्रतिध्वनित हुन्थ्यो । गोठमा ठूलाले मनग्गे ताजा दूध, तर र कुराउनी खायो र आफूलाई न्यानो राख्न भेडाका पाठाहरूसँगै सुत्यो ।
बिहान चहकिलो घाम लाग्यो । हिमालचुलीको हिउँ सफा र ताजा देखियो । बिहानको खाना खाएपछि लगत्तै गोठालाहरूले भेडाबाख्राहरू चराउन लगे र गोठमा ठूलालाई भेडाका पाठाहरू र एउटा कुकुरसँग छाडिराखे । लेकमा यसरी उसले एक्लै बस्नुपरेको यो पहिलोपटक थियो । गोठबाहिर घुमी हिँड्न उसलाई आँट आएन र गोठभित्र नै पाठाहरूसँग खेलिरह्यो । उसलाई भालु र चितुवाहरूसँग डर लागेको थिएन । उसलाई ठूलो कुकुरले उसको सुरक्षा गर्छ भन्ने लागेको थियो । बरु, उसलाई त वनझाँक्रीको डर थियो । किनकि, वनझाँक्रीले केटाकेटीहरू अपहरण गरेर लाने गर्दछ भन्ने कुरो उसले सुनेको थियो ।
मध्याह्नतिर उपत्यकामाथि बादल उठ्दै आयो र पहाडका टाकुराहरूलाई ढाक्दै लग्यो । झन् मध्याह्नपछि त सम्पूर्ण पहाडको भागलाई नै हुुस्सुले छोपिदियो । ठूलाले जङ्गली जन्तु र वनझाँक्रीलाई तर्साएर भगाउन गोठभित्र आगो बालेर प्रशस्त धुवाँ निकाल्यो । तैपनि, साँझतिर सुसेली बजेको सुन्दा ऊ साँच्चिकै डराउन लाग्यो । कारण, वनझाँक्रीले प्रायः सुसेली बजाउने गर्छ भन्ने कुरा उसलाई बताइएको थियो । ऊ अगेनाको छेवैमा टुक्रुक्क बस्यो र आफ्नो सुरक्षाका लागि बलिरहेको एउटा अगुल्ठो हातमा समातिराख्यो ।
उसलाई अत्याउने गरी त्यो सुसेलीको आवाज झन् छिट्छिटो नजिक हुँदै आयो । त्यसपछि कसैले उसको नाम बोलाएको उसले स्पष्टसँग सुन्यो र अन्तमा वस्तुहरूलाई एकत्रित पार्दै ल्याउन गोठालाले त्यो सुसेली बजाएको थाहा पाएर मात्रै ऊ ढुक्क भयो । ऊ गोठालाहरू भएतिर दगुुर्दै गयो र ऊसँगसँगै पाठाहरू पनि उनीहरूका माउहरू भएतिर दूध खान दगुरे । गोठालाले ठूलालाई वनझाँक्रीसँग डर मान्नु नपर्ने विश्वास दिलाउँदै के भन्यो भने ऊजस्तो छिटो कुद्न सक्ने केटोलाई वनझाँक्रीले पक्रनै सक्तैन । उसलाई के पनि भनियो भने वनझाँक्रीले लखेट्दा ऊबाट जोगिन ओरालैओरालो भाग्नुपर्छ । किनभने, लोग्ने वनझाँक्री प¥यो भने लामो कपालले उसका आँखालाई ओरालामा छोप्दछ र स्वास्नीचाहिँ हो भने उसका झुन्डिएका लामालामा स्नतले गर्दा ओरालोमा दौडन उसलाई गाह्रो पर्छ ।
त्यस लेकमा ठूलाले अति रमाइलो समय बिताउन पाए पनि ऊ त्यहाँ धेरै दिन बस्न सकेन । साथीहरूसँग हिँड्डुल गर्ने बानी परेको ठूलालाई लेकको एकान्त जीवन मन परेन । पन्ध्र दिनपछि गाउँमा फर्किँदा उसलाई आनन्द लाग्यो । गोठमा बसेकाले उसका लुगाफाटा धुवाँले पहेँला भएका थिए र उसको शरीर पनि भेडा, धुवाँ र नौनी घिउजस्तै गन्हाउँथ्यो । ऊ आफ्ना साथीहरूसँग पुनः मिसियो र पहिले खेल्ने खेलहरू खेल्न थाल्यो ।
यसरी मस्तसँग बिताएका दिनहरूबाहेक गाउँको जीवन सुख–सुविधाको थिएन । तराँचे गाउँ दुईओटा खतराको बीचमा रहेको थियो । एउटा माथिबाट पहिरो झर्ने खतरा र अर्को धेरै बर्सात भएको बेला मस्र्याङ्दीको बाढीले किनारका खेतहरूलाई बगाएर लाने खतरा । यसबाहेक सुक्खा वर्षहरूमा अनिकाल पनि लाग्ने गथ्र्यो । कोही बेला गाउँमा जग्गा, गाईवस्तु र मजदुरीबारेमा झगडरू पर्ने गथ्र्यो अनि मुद्दामामिला गर्नुपर्ने स्थिति उत्पन्न हुन्थ्यो ।
ठूलाका बाबु गाउँका पाका अगुवा मानिन्थे र गाउँका झँझगडालाई अदालतमा पुग्न नपर्ने गरी गाउँमै मिलाइदिने प्रयास गर्दथे । एकपल्ट दुई गाउँहरूबीच चरन सम्बन्धमा उठेको पुरानो झगडालाई लगातार पाँच दिनसम्म कुराकानी गराई दुवै समूहलाई मिलाएबापत ठूलाका बाबुको नाम यस क्षेत्रमा निकै चलेको थियो । त्यस प्रकारको कार्यनीति अँगाल्दा राम्रै पनि भयो । अन्तिम निर्णय भएपछि दुवै समूहले पाँचओटा भेडा काटी भोज खाई खुसीयाली मनाए ।
गाउँघरमा झगडा गर्नेहरू ठूलाका बाबुकोमा आई एकार्र्कालाई दोषारोपण गर्ने गर्थे । बूढाले सबभन्दा पहिले दुवैथरीलाई हप्काएर चुप बनाउँथे र पालैपालोसँग उनीहरूका कुरा सुन्ने गर्थे । त्यसपछि उनले आफ्नो निर्णय दिन्थे, त्यही निर्णय अन्तिम हुन्थ्यो । यस्तो झगडा मिलाउँदा ठूला गम्भीर भई आफ्ना बाबुको छेउमा चुपचाप बस्ने गर्दथ्यो र आफ्ना बाबुको प्रभावशालीताको प्रशंसा गर्दथ्यो ।
हिउँदमा तराँचे गाउँको बाटो भएर धेरै परदेशीहरू आवतजावत गर्दथे । बाहिरबाट आउने त्यस्ता मानिसहरूका लागि ठूलाका बाबुले आफ्नोबाहेक अरू तीनओटा हुक्काहरू राखेका थिए । जुन हुक्काहरू क्रमशः बाहुन, छेत्री, गुरुङका लागि हुन्थे । ती मानिसहरू टाढाका गाउँहरूबाट अन्न किन आएका किसानहरू, तिब्बती लामाहरू र मगन्तेहरू, हिन्दु साधु र तीर्थयात्रीहरू हुन्थे । तिनीहरू ठूलाका पितासँग टाढाटाढाका कुराहरू गर्थे र ठूलाचाहिँ एउटा उत्सुक श्रोताका रूपमा बसिरहन्थ्यो ।
ठूलाका पिताका छिरिङ लामा नाम गरेका एकजना तिब्बती मित थिए, जो प्रत्येक हिउँदमा उनीहरूको घरमा आउने गर्थे । ठूलाले छिरिङ लामालाई खुब मन पराउँथ्यो । किनभने, एकपल्ट निकै साह्रो बिरामी पर्दा उसकी आमालाई तिनले जाती पारेका थिए र ठूलालाई तिनले तिब्बती अक्षरहरू तथा तिब्बती पात्रोका चित्रहरू लेख्न सिकाएका थिए । कहिलेकाहीँ परदेशी बाहुनहरूले उसलाई नेपाली वर्णमालाका केही अक्षरहरू सिकाउँथे । उसले निगालाको कलम र लाँकुरीका पातहरूबाट मसी बनाउन पनि सिकेको थियो ।
गाउँमा कुनै पाठशाला थिएन । यसो त लमजुङ जिल्लाभरि नै कतै पनि पाठशाला थिएन । एकजना क्षेत्री बूढा थिए, भारत गएर आएकाले उनलाई सबैले ‘देशी बूढा’ भन्ने गर्थे । तिनले नै लोकप्रिय धार्मिक श्लोकहरू लय हाली कण्ठस्त पार्ने तरिकाद्वारा पढाउने गर्दथे । ठूलाले औपचारिक शिक्षा प्राप्त गरेकै थिएन । कारण उसका पिता गाउँघरको व्यवहारले व्यस्त रहन्थे र आमा अशिक्षित थिइन् । पाठशालामा पढ्न जान ठूला अति इच्छुक थियो । दरबार स्कुलमा छोटो समयमा पढ्दाका माइला र साइँला दाजुहरूका राम्राराम्रा पोसाकहरू र चित्रसहितका किताबहरू बाकसमा राखिएको देख्दा नै उसलाई पाठशाला जाने रुचि भएको थियो । तर, काठमाडौं त राम्ररी हिँड्दा पनि सात दिन टाढा पर्दथ्यो । ठूलाका बाबु वर्षमा एकपल्ट पेन्सन थाप्न काठमाडौं जाने गर्थे र फर्केर आउँदा नानीहरूका निम्ति मिठाइ तथा खेलौनाहरू लिई आउँथे । ठूलाले काठमाडौं जाने सपना बुन्न थाल्यो । तर, यसबारेमा आमाबाबुसित उसले कहिल्यै कुरा गर्न सकेन ।
जब ठूला नौ वर्षको भयो, काठमाडौं जानेबारे उसले चाँडै नै निधो गर्ने विचार ग¥यो । त्यस बखत पेन्सन लिन जाने व्यक्तिहरू बाटामा चोर लाग्छ भन्ने डरले एउटै जमात भई हिँड्ने गर्दथे । हिउँदमा अरू पेन्सनवालाहरू आएर उसका बाबुसँग यात्राबारे कुराकानी गर्दा ठूलाले फरकै नपर्ने गरी सबै कुरा सुन्ने नै भयो । उसले धेरैजसो पेन्सनवालाहरूले साइत निकाली एक शुक्रबार गाउँबाट हिँडेर तराँचेबाट दश किलोमिटर दक्षिणतिर बास बस्ने गरेको निर्णय सुन्न पायो । अरू बाँकी व्यक्तिहरूचाहिँ भोलिपल्ट बिहान ठूलाका पितासँगै गएर त्यहाँ उनीहरूलाई भेट्न पुग्ने भए ।
हिँड्ने दिनलाई ठूलाले राम्ररी सम्झिराख्यो र आफ्नोबारे कसैलाई केही भनेन । जाने निर्णय भएको दिनमा उसले मूलबाटो छेउमा एकजोर सुरुवाल लुकाइराख्यो र सधैँझैँ साथीहरूसित खेल्न थाल्यो । केही समयपछि पेन्सनवालाहरूको पहिलो समूह काठमाडौं जाने बाटो लागेको देखियो । तिनीहरू गाउँबाट नदेखिने गरी ओझेल भइन्जेल ऊ पर्खिरह्यो र त्यसपछि आफ्नो सुरुवाल लिएर तिनीहरूको पछि दौड्यो । उसका साथीहरू छक्कै परे र गाउँदेखि दक्षिणमा पर्ने घट्टेखोलासम्म उसलाई पछ्याउँदै आए । तर, ठूला तिनीहरूभन्दा धेरै नै चाँडो दौडन सक्दथ्यो र तिनीहरूले उसलाई भेट्नै सकेनन् ।
आधा घण्टापछि उसले त्यस टोलीलाई भेट्यो । उनीहरूले ठूलालाई फर्काउन अनेक प्रयास गरे । ऊसँग बाटामा खाने कुरा र ओढ्ने–ओछ्याउने नभएकाले उसलाई फर्कने आग्रह गरे । तर, ठूलाले के जवाफ दियो भने उसका बुवाका सामलहरू उनीहरूले बोकेका हुनाले उनलाई खुवाउनैपर्ने हुन्छ र सुत्नका लागि त ऊ रुखमुनि नै भए पनि त्यसै पल्टनेछ । यस्तो दृढ सङ्कल्प भएको ठिटोलाई उनीहरूले अन्य प्रश्नहरू गर्न हार माने । त्यस रात त्यो टोली एउटा सिमलको ठूलो रुखमुनि चउरमा बास बस्यो । ठूलालाई खाना खुवाएर आगोकै छेउमा ओछ्यान लगाइदिए । बुवाले उसको यो गोप्य र आँटिलो निर्णयप्रति कस्तो प्रतिक्रिया जनाउने हुन् भन्ने कुराको धेरै चिन्ता मनमा खेलाएपछि मात्र ठूलालाई निद्रा लाग्यो ।
भोलिपल्ट बिहान घोडामा चढेर ठूलाका बाबु बास बसेको त्यस ठाउँमा आइपुगे । बूढा मान्छे रिसाएका देखिएनन् । बरु, किन घरबाट भागेको भनेर ठूलालाई सोधे । ठूलाले काठमाडौंमा स्कुलमा भर्ना हुने इच्छा व्यक्त ग¥यो र उसलाई साथैमा लिएर जाने बिन्ती ग¥यो । पुरै एक हप्ता हिँड्न सकिन्छ÷सकिँदैन, अर्को फाल्तु घोडा छैन र अरू व्यक्तिहरूले बोक्न सक्तैनन् भन्ने कुराबारे बाबुले उसलाई सोधपुछ गरे । जवाफमा ठूलाले पूर्ण विश्वासका साथ आफैँ हिँड्न सक्ने कुरा बतायो । बाबुले केही क्षण सोचेर ठूलालाई के सम्झाए भने ऊ काठमाडौं गएको खण्डमा धेरै वर्षसम्म घर फर्कन पाउने छैन । तर, ठूलाले आफ्नो मन बाँधिसकेको हुनाले त्यस कुराप्रति वास्तै गरेन । अनि, बाबुको ऊप्रति दया जागेर नै होला एकपल्ट मुसुक्क हाँसे र ठूलालाई काठमाडौं लिएर जान राजी भए । त्यस बेला ठूलालाई ढुक्क लाग्यो, साँच्चि नै खुसी लागेर आयो ।
तर, काठमाडौं अझै १२८ किलोमिटर पूर्वमा पथ्र्यो र ठूलाले पूरै पहाडको बाटो हिँड्नुपर्ने थियो । उसका गोडामा घाउहरू निस्किए र गोडा सुन्निए पनि । तर, फर्काइदिने डर र अरूले खिल्ली उडाउला भन्ने डरले उसले केही बताउनै सकेन । भिराला बाटाहरू, खुुट्टा बिझाउने खोलाका बगरहरू र हल्लिने झोलुङगे साँघुहरू हुँदै ऊ हिँड्यो । दिनमा उसले नौला ठाउँहरू देख्न पाउँथ्यो र धेरै जिज्ञासा प्रकट गर्दथ्यो । तर, रातमा भने ताराहरूले भरिएको आकाशमुनि आफ्नो घर र साथीहरूलाई सम्झँदै धेरै बेरसम्म ननिदाई आँसु झार्ने गर्दथ्यो । तर, अब त फर्कने कुरै थिएन ।
एक दिन उनीहरू पाँचमाने भन्ज्याङ आइपुगे र बुवाले उसलाई छेउमा बोलाएर अगाडि रहेको काठमाडौं सहरतिर देखाए । पहिले त ठूलालाई आफ्नै आँखाको विश्वास लागेन । किनभने, उसले कहिल्यै पनि यति ठूलो समतल भूमि देखेको थिएन र एकै ठाउँमा यति धेरै घर तथा दरबारहरू हुन्छन् भनेर कल्पना पनि उसले गरेको थिएन । काठमाडौं ठूलाका लागि एउटा अविष्कार नै भयो । उसका अगाडि एउटा नौलो संसार खुल्न गएको थियो ।