यो अनौठो घटनालाई पढिसकेपछि तपार्इंले भन्नुहुनेछ– यस्तो सोच्तै नसोचेको सुन्दै नसुनेको कुरो कसरी पत्याउने ! तर, यो मैले कल्पना गरेर रचेको घटना होइन । भएकै सत्य कुरा हो । किनकि, म डाक्टर हुँ, भावुक व्यक्ति या कथाकार होइन । हो, म कानको विशेषज्ञ हुँ । यसै डाक्टर भएको होइन, कस्ता–कस्ता कानका रोगीसित सम्पर्क भयो, कति निको भएर गए भनी साध्य छैन ।
म सरकारी अस्पतालमा काम गर्छु । सहरदेखि भित्र केही पर एउटा प्राइभेट क्लिनिक पनि खोलेको छु । आफ्नो पेसामा दत्तचित्त भएर अनेक दुष्कर कानसम्बन्धी रोग निर्मुलै पार्नसक्ने अनुभवी भनेर सबैबाट प्रशंसा हासिल गरेको छु । कति गम्भीर रोगी पनि मेरो ओखती या शल्यक्रियाद्वारा मैले बिसेक पारेको हुनाले मलाई मानिसहरू आदर गर्छन् र मैकहाँ आउँछन् । रात–बिहान जहिले पनि म व्यस्त रहन्छु ।
अहिले जुन घटनाको उल्लेख गर्दै छु, त्यो हालै मेरो जीवनमा घटेको हो । जसले गर्दा म विचित्र अनुभव गर्न बाध्य भएको छु । विज्ञानले सृष्टिको रहस्यलाई अझै धेरै खोतल्न बाँकी रहेछ भन्ने कुरो यस घटनाले साबित गरी देखाएको छ कि विज्ञानले ओखती र चिरफारबाहेक अरू केही अविष्कार गर्न सक्तैन होला । किनकि, कान प्राणीहरूको विशिष्ट अंगहरूमध्ये एउटा हो । जुनबिना हामी प्राण जोगाउन पनि असमर्थ हुन्छौँ ।
अँ त, कुरा के हो भने, त्यस दिन करिब तीन महिनाअघि म अस्पतालामा आफ््नो ड्युटीमा व्यस्त थिएँ । उपचारकक्षबाहिर रोगीहरूको क्यू थियो । सबैजना स्त्री–पुरुष मकहाँ उपस्थित भएर आफ्ना–आफ्ना दुःख–व्यथा सुनाउन हतारिइरहेका थिए । तर, पाले तिनलाई रोक्तै पालैपालोसित कानका रोगीहरूलाई बोलाउँथ्यो र भित्र पस्न दिन्थ्यो । तर, म ती सब बाहिरका होहल्ला र खलबलबाट बेखबरझैँ रोगीहरूलाई जाँच्तै जान्थेँ । मेरो त सबैसित समान व्यवहार र मित्रता राख्नु, औ समस्या र रोगको निदान गरी सन्तोष दिलाउनु स्वाभाविक कर्तव्य थियो ।
म एउटा ७÷८ वर्षको केटोको उपचारमा संलग्न थिएँ कि त्यो असाधारण कानको रोगी आइपुगेको थियो, जसको बारेमा म भन्दै छु । मैले त्यस केटालाई जाँचेर बिदा गरेपछि त्यस व्यक्तितर्फ फर्कें, जो उभिरहेको थियो । ऊ नमस्ते गरेर मेरो अघिल्तिर स्टूलमा बस्यो ।
ऊ एउटा अधबैंसे मैलो दौरा सुरुवाल र कोट टोपी लगाएको केही दुब्लो पातलो, जो भर्खर टाढा गाउँबाट आएकोझैँ लाग्दथ्यो । मलाई उसले आफ्नो नाउँको पर्चा दियो । जसमा उसको उमेर, गाउँ–नाउँ लेखिएको थियो । उसको अनुहार उदास थियो ।
‘के हुन्छ तपाईंलाई ?’ मैले उसलाई हेर्दै भनेँ । जबकि, अरू रोगीहरू आफ्नो व्यथाबारे गुनासो गर्न थालिहाल्थे । तर, त्यो व्यक्ति के भनुँ भनेझैँ प्रश्नात्मक दृष्टिले मलाई हेर्न लागेको थियो । मानौँ, म आफँै उसको रोगको जानकार थिएँ ।
‘के हुन्छ खै के भनूँ ?’ उसले जवाफमा भन्यो, ‘म कान पनि सुन्छु । कानलाई क्यै भएको छैन ।’
‘अनि के भो त ?’ मैले उत्सुकता देखाएँ ।
‘मेरो कान बजिरहन्छ खोला कराएजस्तो ! ढ्याङरो ठटाएजस्तो बजिरहन्छ ।’ उसले आफ्नो रोगको लक्षण बताएपछि मैले प्रश्न गरेँ, ‘कुन बेला यसरी बज्छ ?’ ‘जुन बेला पनि बजिरहन्छ ।’ उसले जवाफ दियो ।
‘ऐले पनि बजिरहेछ ?’
‘ऐले पनि बजिरहेको होला ।’ उसले भन्यो ।
मलाई शंका पनि लाग्यो– मगज त ठीक छ यिनको ?
‘आफ्नो कान बजेको पनि थाहा हुँदैन, के कुरा गर्नुभएको ?’ मैले अचम्म मान्दै सोधेँ ।
‘म बाहिरको हल्लाले गर्दा सुन्दिनँ ।’ उसले भन्यो । उसको कानमा टर्च लगाएर कानभित्र प्वालमा हेर्न लागेँ, कानको पर्दामा केही भएको शंकाले ।
‘यो कान हैन, यो कान…’ उसले दायाँ कानतर्फ देखायो । ‘देब्रे कान त ऐले ठिक छ । राम्रै सुन्छु । तर, फेरि यो बजिरहन्छ ।’
‘किन पैले देब्रे कानमा पनि त्यस्तै भएको थियो ?’ मैले सोधेँ ।
‘यस्तो बज्दैनथ्यो, चिलाउँथ्यो मात्रै । कन्याउँदा टट्टाउँथ्यो र तेल हाल्थेँ । अनि, क्यै सञ्चो हुन्थ्यो । यो चिलाउने रोग १९÷२० वर्षपछि आफैँ निको भो । तर, ऐले दायाँ कानमा ढ्याङ्रो बजिरहन्छ, कैले खोलाजस्तो ।’ उसले भन्यो ।
‘यस्तो बज्न थालेको कति भो ?’ मैले सोधेँ ।
‘दायाँ कान बज्न थालेको यै गएको जेठदेखि त हो नि ! ऐले त झन् धेरै कराउन लाग्यो । तेल हालेर पनि भएन, चिलाएको भए पो ! झारफूक गराएँ । गाउँको मसान लागेको होला भनेर मन्छाएँ, के हुन्थ्यो । झन् उग्र हुँदै गैरेछ ।’
‘खास कस्तो बेला बज्छ ?’
‘सुनसान चकमन्न भएको बेलामा ढ्याङ्रो ठोकिरहन्छ । गाउँको धामीले बिगार पारेको हो कि कसो हो डाक्टर साप राम्ररी हेरिदिनुपर्यो ।’ उसले अनुनय गर्यो ।
‘अनि—हुलमूल, झै–झगडा खैलाबैलामा तपाईंको कान बज्दैन ?’ मैले सोधेँ ।
‘त्यस्तो बेला म सुन्दिनँ । तर, भित्रभित्रै बजिरहेको हुन्छ । ऐले नसुनेको पनि त्यै कारण हो, बाहिरको खलबलले गर्दा ।’
‘त्यसो भए तपाईंको कानलाई सधैँ खैलाबैला, झै–झगडा हो–हल्ला भइरहनुपर्ने रहेछ ?’ मैले केही विनोदी भावमा भनेँ ।
‘हो हजुर ! कान बजिरहने भएकोले हुलमूल, हल्लाखल्ला भएको ठाउँ खोज्दै सहरमा डुलिरहन्छु । सधैँ जात्रा मेला भैरहनुपर्ने भो ! तर, सधैँ यस्तो किन हुन्थ्यो ? सुनसान एकलास भइहाल्छ । अनि, कानमा ढ्याङ्रोको आवाज आउन थाल्छ । यो भूतको खेल हो कि हजुर ? यस्तो सहरमा पनि मलाई त सधैँ कोसीगण्डकीको छेउ बसिरहेजस्तो अनुभव हुन्छ ! मान्छे नबोलेका बखत रात–साँझ जैले पनि यस्तो भएपछि यो रोगले मलाई लिएरै जान लाग्यो डाक्टर साप ! यो पापी रोगले गर्दा आज क्यै नलागेर हजुरकाँ आइपुगेको छु । अब काँ जाऊँ त शरण पर्न हजुर !’ उसले लामो सास फेर्यो ।
उसको असामान्य रोगबारे मैले चुपचाप दिलचस्पीकासाथ सुनिरहेको देखेर उसले फेरि भन्न लाग्यो, ‘यो दायाँ कान खोला र ढ्याङ्रोजस्तै बजिरहँदा रेडियो सुन्न लाग्छु । राति एघार बजेसम्म सुनिरहन्छु । फेरि सुत्न ओछ्यानमा पल्टन लाग्दा ढ्याङ्रो ठटाउन थाल्छ कानमा । फेरि रेडियो खोल्छु । तर, रेडियोको टाइम बितिसकेको हुन्छ । फेरि सुत्न खोज्छु मुटु ढुकढुक गर्न लाग्छ, निद्रा नपर्ने डरले । अर्कोतिर कानमा ढ्याङ्रो बज्छ । मुटुको ढुकढुक र कानको ढ्याङ्रोले मलाई सुत्न दिँदैन, अत्यास लाग्छ । बाहिर आधारात कतै खलबल सुनिँदैन । कतै झै–झगडा हल्ला भैदिए पनि सुन्न जानु हुन्थ्यो । दिउँसो भए जीनतिन डुलफिर गर्दै हिँड्थेँ, आधारातमा कहाँ जानु ? आधारातमा टुँडिखेलमा जस्तो आमसभा पनि कतै हुँदैन ।’
यस प्रकारको विलक्षण केसको सामना मैले पहिले गरेको थिइनँ । यसको कुनै शारीरिक कारण मैले पत्ता पाउन सकिनँ । यो साँच्चिकै कानको रोग थियो त ? अनुसन्धान गर्ने विषय थियो । वैज्ञानिक युगलाई एउटा च्यालेन्ज थियो ।
उसको बयानले धेरै समय बितेकाले र बाहिर खलबल बढ्न लागेकोले मैले केही न केही गर्नैपथ्र्यो । यसैले पर्चामा रोगको लक्षण ‘कानमा ढ्याङ्रो’ लेखेर कुनै ‘इयर ड्रप’को नाम सिफारिस गर्दै भनेँ, ‘तीन दिनपछि आउनु होला ।’
मैले यसरी ‘इयर ड्रप’को सिफारिस गरेको देख्ता तपाईंलाई लाग्यो होला—डाक्टर पनि बडा रसिक हुँदा रहेछन् । ढ्याङ्रो–आवाजमा रसको थोपा क्या सूझ ! धन्य डाक्टर ! अनि, यो केसले गर्दा तपाईंलाई त्यो कुम्भकर्णको निद्रा सम्झायो होला, जसको निद्रा भगाउन उसको कानमा ढ्याङ्रो र झ्याली, बिगुल र नगरा बजाउनुपरेको थियो रे ! त्यस्तै यो नेपाली गाउँलेको कानमा बल्ल ढ्याङ्रो बज्न लागेको त होइन ? देशको जागरणको पूर्वलक्षण त होइन ? भन्ने कल्पना गर्नु भो होला । तर, म त्यस्तो सोच्नसक्ने विचारशील राजनीतिज्ञ कहाँ हुुँ र !
तीन दिनपछि उही गाउँले अस्पतालमा पहिले नै आई पालो कुरेर मेरो प्रतीक्षामा बाहिर ढोकामा बसिरहेको थियो । म आफ्नो उपचारकक्षभित्र जान लागेको देखेर उसले ‘नमस्कार हजुर’ भन्दै मेरो ध्यान आकृष्ट ग¥यो । मानौँ, ऊमात्रै त्यहाँ छ र अरू रोगीहरू कोही होइनन् । उसले ‘मलाई बोलाउला डाक्टरले’ र पहिले नै जाँच्ला भन्ठानेको थियो होला । तर, पालेले उसलाई ढोकाभित्र किन पस्न दिन्थ्यो र ? म पनि उसलाई किन बोलाउँथे ? मेरा लागि त सबै रोगी समान थिए, उस्तै व्यवहार सबैसित गर्नुुपथ्र्यो ।
दुई–चारजना रोगीपछि उसको पालो आएकोले ऊ हातमा पर्चा लिएर आइपुग्यो, ‘यो आखतीले क्यै भएन हजुर ! कानमा हालेँ, तेलले जति पनि काम दिएन । राम्रो ओखती दिनुप¥यो हजुर ! म अस्तिदेखि सुतेको छैन, ढ्याङ्रोको आवाजले मुटु खान लाग्यो । जति धेरै पैसा परे पनि असल ओखती दिनुपर्यो ।’
‘तपाईं गाउँबाट यही ओखती गर्न आउनुभएको हो ?’ मैले उसको मुखतिर हेर्दै भनेँ, उसको हैसियतको कल्पना गर्दै ।
‘हो हजुर ! तर, मलाई विश्वास थिएन रोग होला भन्ने । त्यसैले अलि दिन ढिला भो ।’ उसले भन्यो ।
‘गाउँमा के काम गर्नुहुन्छ ?’ मैले सोधेँ ।
‘गर्र्छु हैन, गर्थेँ । पैले प्रधान थिएँ, पछि राजीनामा गरेँ । यै राजीनामा गरेपछि यो कान बज्न लागेको हो । साँच्ची भन्ने हो भने त्यसभन्दा अघि देबे्र कान चिलाउँथ्यो । मैले भनिहालेँ नि, १९÷२० वर्षको पुरानो रोग कसरी च्वाट्टै भो राजीनामा गरेपछि, उदेकको कुरा हैन हजुर ? अब यो दायाँ कानको ढ्याङ्रो कैले बज्न छाडला, खोला कराउन कैले छाडला,’ उसले स्टूलमा बस्तै भन्यो । जो ऐलेसम्म उभिएर कुरा गर्दै थियो ।
‘यो तपाईंको रोग शरीरसम्बन्धी होइन भन्ने मलाई लाग्छ । कुनै मानसिक कारण हुनुपर्छ ।’ मैले उसलाई भनेँ र अन्तमा कुनै ओखती सिफारिस गर्न नसकी उसको पर्चामा सहानुभूतिका साथ स्लीपिङ ट्याब्लेट खान प्रेस्क्राइब गरेँ र भनेँ, ‘यो ओखती लेखिदिएको छु । एक चक्की पानीसित निल्नुहोला । सुत्ने बेला ।’
‘हुन्छ हजुर । यसले पनि निको भएन भने गाउँमा नै जान्छु । अचेल त गाउँमा पनि खैलाबैला पस्न लागेको छ । नभएको खोला छाँगोको आवाज सुनेर शान्ति पाउँला कि । यसले पनि नभए रातरातभर नामी नामी धामी–झाँक्री कमाउन लाएर निको पारुँला । एउटा उपाय ता गर्नैपर्ला । सहरमा बडा–बडा डाक्टरले पनि नसक्ने बेथा मलाई लाग्यो ए रात्तै !’ भन्दै ऊ ‘लौ त हजुर !’ भनेर उठ्यो । नमस्कार गरेर ढोकाबाहिर गयो ।
त्यस दिनपछि त्यो फेरि आएको छैन । उसलाई शान्त वातावरणमा ढ्याङ्रो बजेको आवाज त्यही स्लीपिङ ट्याब्लेटले ठिक गर्यो वा गाउँमा गई आफ्नै प्रकारको उपचारले निको पार्यो होला, मलाई आजसम्म थाहा भएको छैन ।