काठमाडौं, १२ माघ । अमेरिकी राजदूत र्यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज (सोमबार) प्रचण्ड निवास खुमलटार पुगेर अमेरिकी राजदूत बेरीले भेटवार्ता गरेका हुन् । भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको थियो ।
भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याएको छु ।’ लेखेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले माघ ८ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । प्रचण्डसँगको भेटवार्तालाई पनि त्यसैको निरन्तरताका रुपमा भएको उल्लेख गरेका छन् ।