काठमाडौं, १३ माघ । सरकारविरुद्ध उत्रिने कि समर्थन गर्ने दोधारमा रहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो सानेपामा बस्दैछ ।
बैठकले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनको समिक्षा, थप आन्दोलनका कार्यक्रम, प्रदेश १ र बागमती प्रदेशमा पेश भएका अविश्वासको प्रस्तावबारे छलफल हुने नेताहरुले बताएका छन् ।
पुस १९ गते स्थगित भएको केन्द्रीय समिति बैठक बल्ल आज बस्ने भएको हो । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच सरकारलाई हेर्ने दृष्टिकोणमा एकमत छैन ।
सभापति देउवा ‘सफ्ट’लाईनमा देखिएका छन् भने वरिष्ठ नेता पौडेल सरकारको चर्को विरोधमा उत्रिएका छन् । दुई प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा पनि दुबै नेताको भिन्न मत रहेको छ ।
सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले वा प्रचण्ड–माधव नेपाल समूह जसले मुख्यमन्त्री र धेरै मन्त्रालय दिन्छ, उसैसँग सहकार्य गर्न सकिने बताउँदै आएका छन् । उता, पौडेल ओली समूहसँग कतैपनि सहकार्य गर्न नहुने अडानमा छन् ।
केन्द्रीय समिति स्थगित रहेको अवस्थामा सभापति देउवा र पौडेलबीच धेरै पटक छलफल भए । योबीचमा नेकपाका दुबै समूहले पनि देउवा र पौडेलसँग छुट्टा–छुट्टै छलफल गरेका छन् ।
कांग्रेसको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको तयारीका बारेमा पनि छलफल हुने भएको छ ।