काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा अवहेलनाकाे मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध अवहेलनाको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् ।
अदलतमा भइरहेको सुनुवाईलाई प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध न्यौपाने र आचार्यले अवहेलना मुद्दा दर्ता गरेका हुन् । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ ।
‘प्रधानमन्त्रीको पदमा आसीन खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु,’ सर्वोच्चमा आचार्यले दायर गरेको रिटमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको बेला सार्वजनिक रुपमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको जिकिर छ । त्यतिबेला प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भन्ने टिप्पणी गरेका थिए ।
वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।
यस्तै उनले आफ्नो पक्षमा फैसला आउने र प्रतिनिधि सभा विघटनलाई अदालतले पनि सदर गर्ने दाबी सार्वजनिक रूपमा नै व्यक्त गर्दै आएका छन् । अदालतमा विचाराधीन मुद्दामा प्रभाव पर्ने गरी अभिव्यक्ति दिन नपाइने व्यवस्था छ ।