Logo
Logo

कोरोना भाइरसविरुद्धको खोप आजबाट लगाइने, कसरी दिइन्छ खोप ?


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १४ माघ । कोरोना भाइरस विरुद्धको खोप लगाउन आजबाट सुरु हुँदैछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामको खोप पहिलो चरणमा आज स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिंदैछ ।

काठमाडौं उपत्यकामा १७ स्थान सहित देशभरका १ सय २० केन्द्रहरुबाट खोप दिइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट खोप लगाउने कार्यक्रमको उद्घाटन गर्नेछन् ।

पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउँने तयारी गरेका छन् ।

त्यसपछि शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सफाइकर्मी गरी २६४ जनाले खोप लगाउने छन् ।

शुक्रराज अस्पताल बाहेक यही अस्पतालमा रहने खोप केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका स्वास्थ्यकर्मी, काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पतालका २ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई पनि खोप दिइनेछ ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो दिन नै ३ सय जना स्वास्थ्यकर्मीले खोप लगाउने भएका छन् । यहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला नेत्र अध्ययन केन्द्रका ३ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीले पनि खोप लगाउने छन् ।

कान्ति बाल अस्पताल, चिरायु अस्पताल र ईशान बाल अस्पतालका स्वास्थ्यकर्मीले पनि टिचिङ अस्पतालमा खोप लगाउने तयारी गरिएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ५ सयभन्दा बढीले खोप लगाउँदै छन् । पहिलो चरणमा कुल ४ लाख ३० हजारलाई खोप दिने तयारी छ ।

सरकारले ९ शीर्षकमा खर्च गर्न सकिने गरी ३७ करोड बजेट प्रदेशमा पठाएको छ। कोरोनाविरुद्धको खोप अभियान सुरु हुनु अघिल्लो दिन मात्रै सरकारले आवश्यक तयारी पूरा गर्न भन्दै प्रदेशमा बजेट पठाएको हो।

खोप लगाउनुअघि नै गर्नुपर्ने कामको बजेट बल्ल पठाइएको हो । प्रदेश १, २, वाग्मती र कर्णाली प्रदेशमा ६ करोडको दरले, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ४ करोडको दरले बजेट पठाइएको छ । लुम्बिनी प्रदेशमा ५ करोड बजेट पठाइएको छ ।

७७ जिल्लाका लागि ७८ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।

खोप कसरी दिइन्छ ?

देशरभर १ सय २० स्थानमा खोप केन्द्र तोकिएको छ । खोप सुरु हुनुअघि प्रतिक्षा कक्ष राखिएको छ ।

खोप लगाएपछि निगरानी गर्न अर्को निगरानी कक्ष पनि राखिएको छ । खोपलाई घामको किरणबाट जोगाउनुपर्ने भएकाले हावा आवतजावत गर्न मिल्ने कोठामा खोप दिइन्छ ।

कोरोना संक्रमणबाट बच्न सेवाग्राही र सेवा प्रदायक सबैले खोप केन्द्रमा कम्तीमा २ मिटरको दूरी कायम गर्ने व्यवस्था मिलाइएको हुन्छ । हातको सरसफाइ र मास्कको अनिवार्य प्रयोग हुनेछ । खोप लगाउने ठाउँमा आएकालाई कोरोनाको लक्षण भए वा नभएको सोधिन्छ ।

सरकारले खोप लगाउनका लागि खोप कार्डको व्यवस्था पनि गरेको छ । खोप लगाउने व्यक्तिले सो कार्ड भर्नुपर्नेछ । खोप लगाउने र लिने व्यक्ति एल आकारमा बस्छन् । खोपका बारेमा र खोप लगाएपछि हुन सक्ने असरका बारेमा समेत परामर्श दिइनेछ । खोप लगाएपछि निगरानी कक्षमा ३० मिनेट बस्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्