काठमाडौं, १४ माघ । नेपालले फेब्रअरीको दोस्रो साताबाट कतारसँग तीन वटा टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ‘कतार डे स्पोर्टस्’को अबसर पारेर नेपाली टोलीलाई दोहा पठाउने तयारी गरेको हो ।
खेल फेब्रअरी ९, १० र १२ तारिखमा हुने छ । नेपाली टोलीको बन्द प्रशिक्षण फेब्रअरी १ बाट सुरु गर्ने क्यानको तयारी रहेको छ । गत वर्ष सिंगापुरमा भएको टी–ट्वेन्टी एसिया छनोटमा नेपाल कतारसँग पराजित भएको थियो ।
त्यस्तै मार्चमा ओमानमा हुने क्रिकेट विश्वकप लिग २ को खेलका लागि पनि क्यानले तयारी गरेको छ । नेपालले सो खेल ओमान र अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
यस्तै क्यानको बोर्ड बैठकले हाल जारी प्रधानमन्त्री कप पुरुष क्रिकेटको विजेतालाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । उपविजेतालाई ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले समान ५० हजार रुपैयाँ पाउँनेछन् ।
प्लेयर अफ द सिरिजले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २५ हजार रुपैयाँ पाउनेछन् । यो रकम अघिल्लो संस्करणभन्दा कम हो । प्रधानमन्त्री कपमा बुधबार पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस क्लब तथा बिहीबार दोस्रो सेमिफाइनलमा आर्मी र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।