काठमाडौं, १४ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेकपा प्रचण्ड–माधव समूहले माइतीघरमा धर्ना दिने भएको छ । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आजबाट एकसातासम्म माइतीघरमा धर्ना दिने भएको हो ।
धर्नामा यो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल सहित संविधानसभाका सभासद्, पूर्व सांसद, प्रदेश सांसद लगायत सहभागी हुने बताइएको छ ।
यसअघि अध्यक्षद्वय प्रचण्ड र नेपाल सहितका नेताहरु पुस १४ गते माइतीघरमै धर्नामा बसेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस लगतै राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेपछि यो समूह आन्दोलनमा उत्रिएको छ ।
यसअघि मंगलबार काठमाडौँमा सिटी जुलुस गरिएको थियो । प्रचण्ड–माधव समूहले माघ २८ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।