Logo
Logo

अस्तव्यवस्त बुटवल उप–महानगरः ढल निकास नहुँदा वस्ती नै दुर्गन्धित


- दृष्टि संवाददाता

2.3k
Shares

बुटवल, १४ माघ । बुटवल उप–महानगरपालिका आफूलाई उत्कृष्ट पालिका मध्येको एक दावी गर्छ । तर, वास्ताविकता त्यस्तो छैन । अस्तव्यस्त सडक र ढल व्यवस्थापन नगरिएका कारण बुटवल दुर्गन्धित नगरमा परिणत हुँदै गएको छ ।

सडक विस्तार अभियान चल्यो तर अलपत्र छ । सडक विस्तार अलपत्र हुँदा ढल व्यवस्थापन हुने कुरै भएन । ढल पनि अस्तव्यस्त हुँदा निकास नपाएको फोहोरमैला सडकमा जन्म जमेको छ । सडकहरुमा ढल जमेकाले वस्तीहरुमा दुर्गन्ध फैलियो ।

प्रस्तुत तस्वीर देख्दा लाग्न सक्छ, यो त भैंसीले आहाल खेल्ने ठाउँ हो ! तर यो गलत हो । यो त बुटवल उप–महानगरपालिकाको एक सडकको तस्वीर हो । अझैं तपाईलाई लाग्न सक्छ यो तस्वीर वर्षायामको होला । तर होईन, यो त हिउँद यामकै तस्वीर हो ।

बुटवलको वडा नं. ११ देविनगर चोकदेखि रंगशाला जाने रंगशाला मार्गको हालत यस्तै छ । देविनगरवासीको घरबाट निस्कने फोहोर पानी बगेर अन्त कतै जाँदैन । ढल निकास अस्तव्यवस्त भएपछि फोहोरमैला बगेर पुग्ने ठाउँ सडक बनेको छ ।

ढलमा मिसिनु पर्ने पानी सडकमा पोखिएपछि वस्ती वरपर दुर्गन्ध फैलिएको छ । यात्रुले समेत सास्ती खेप्नु परेको छ । अस्तव्यवस्त सडक र ढलकका कारण सडक दुर्घटना समेत हुने गरेको छ ।

स्थानीयले पटक–पटक वडा कार्यालयमा पुगेर गुनासो पोखेका छन् । तर, ढल व्यवस्थापन हुन सकेको छैन । यो समस्या अहिलेको मात्र होईन, दुई वर्ष भइसक्यो । उप–महानगरपालिका भने स्थानीयसँग समन्वय गर्न नसक्दा सडक विस्तार तथा मर्मत हुन नसकेको बताउँछ ।

हाल रंगशाला मार्गको साढे ३ किलोमिटरमध्ये साढे १ किलोमिटरमा नाली निर्माण भएको छ । अघिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारको ६० लाख, बुटवल उप–महानगरपालिकाको ५० लाख गरी १ करोड १० लाखमा रंगशालादेखि केबीपथसम्म दुवैतर्फ नाली बनाइएको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ ।

गत वर्ष सडक कालोपत्रेसँगै थप नाली निर्माणका लागि प्रदेश सरकारबाट १ करोड २५ लाख रुपैयाँ विनियोजन भएको थियो । तर, काम गर्न नसक्दा रकम फ्रिज भयो । अघिल्लो वर्ष रंगशालामार्गका स्थानीय दुर्गाबहादुर खत्री सहित २३ जनाको टोलीले उच्च अदालत तुल्सीपुर बुटवल इजालसमा मुद्दा हालेका कारण सडक विस्तारको काम रोकिएको वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।

पटक–पटक उत्कृष्ट नगर घोषणा हुँदै आएको बुटवल उप–महानगरपालिकालाई अहिले भने यो सडकले गिज्याँइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले तीव्रता पाउने आशा गरेका जनता निराश बन्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्