Logo
Logo

स्वास्थानी व्रत आजबाट, शालीनदी जान पीसीआर रिपोर्ट चाहिने !


- दृष्टि संवाददाता

567
Shares

काठमाडौं, १५ माघ । हिन्दू धर्मालम्बीहरुको स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ । हरेक पौष शुक्ल पूर्णिमाका दिन यो व्रत सुरु हुने गरेको छ ।

अघिल्लो दिन अर्थात पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र धारण गरेर यसको सुरुवात गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने चलन रहँदै आएको छ।

बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ ।

स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । काठमाडौंको शालीनदीमा स्वास्थानीको मेला सुरु भएको छ । यो स्थान स्वस्थानी व्रतकथासँग जोडिएको विश्वास गरिन्छ ।

कथानुसार गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देशको राजाको भएको विश्वास गरिन्छ । यही लावण्य देश हालको साँखु क्षेत्र भएको भनाइहरु छन् । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि कठोर नियम बनाइएको छ । व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ ।

साथमा पीसीआर वा एन्टिजिन टेस्ट गर्नुपर्ने, निमोनिया छ कि छैन भनेर एक्सरे गरेको रिपोर्ट देखाउनुपर्ने, क्रोनिक फ्लुहरू, मुटुरोग, फोक्सोमा समस्या भएका जस्ता व्यक्तिलाई व्रत बस्न नदिइने लगायत मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्