Logo
Logo

पार्टी परिवर्तन गरेका वडाअध्यक्ष साङपाङको पद चैट !


- दृष्टि संवाददाता

18.8k
Shares

इलाम, १५माघ । नियम कानून राम्रो सँग अध्ययन नगर्दा स्थानीय सरकारका जनप्रतिनिधि अनेक समस्यामा फस्ने गरेका छन । राम्रो सँग अध्ययन नगरी कार्य गर्दा कसैको पद नै धरापमा परेको छ भने कसैको पदसम्म नै खुस्किएको छ । यस्तै भएको छ इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षलाई ।

इलामस्थित माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साङपाङको पद चैट भएको छ । पार्टी परिवर्तन गरेका कारण माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष साङपाङको पद गएको हो । आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका थिए ।

साङपाङको पद खुस्किएको निर्वाचन आयोगले पुष्टि गरेको छ । आयोगको गत ७ माघको बैठकको निर्णयअनुसार भन्दै ९ माघमा गोरखापत्रमा ‘दल त्याग तथा रिक्त सम्बन्धी सूचना’ प्रकाशित गरि सोही दिनदेखि साङपाङ निर्वचित भएको पद स्वतः रिक्त भएको छ ।

आयोगको सुचना अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा २२ बमोजिम दल त्याग गरेको व्यहोरा नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयसहित आयोगलाई जानकारी आएकाले साङपाङको पद रिक्त भएको हो ।

आयोगको सूचनामा उल्लेख गरे अनुसार साङपाङसहित सिरहा औरही गाउँपालिका २ का दलित महिला सदस्य भालसैरदेवी सदा, सोही गाउँपालिकाका कार्यपालिका सदस्य रामप्रताप राम र सुनसरीको इनरुवा नगरपालिका २ का वडा सदस्य लक्ष्मी मेहताको पद समेत रिक्त भएको छ ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय इलामलाई माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको पद रिक्त भएको जानकारी पत्रसमेत पठाएको छ । निर्वाचन आयोगबाट माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको पद रिक्त भएको जानकारी पत्र कार्यालयलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय इलामका सुचना अधिकारी कृष्ण लिम्बुको भनाई छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा साङपाङले तत्कालिन नेपाली कांग्रेसबाट अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी भएका थिए । साङपाङले पूर्व बाँझो गाउँ विकास समितिका अध्यक्ष समेत रहेका तत्कालिन नेकपा एमालेका उम्मेद्वार किरण राईलाई पराजित गर्दै वक्षा अध्यक्षमा विजयी बनेका थिए । वडाका ४ जना सदस्य नेकपा एमालेबाट निर्वाचित हुँदा उनी एक्लै कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचत भएका थिए । तर साङपाङ २१ चैत २०७४ मा माङसेबुङ गाउँपालिका ३ चतुरेमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्