Logo
Logo

गड्डाचौकी नाकाको आवतजात रोक यथावत हुँदा बिरामीलाई सास्ती


- दृष्टि संवाददाता

567
Shares

कञ्चनपुर, १५ माघ । कञ्चनपुरको गड्डाचौकी नेपाल–भारतको सीमा नाका हो । गड्डचौकी नाकाबाट सामान्य अवस्थामा दैनिक सयौं नागरिक आवतजावत गर्छन् । तर, यस नाकामा पनि कोरोनाका कारण आवतजावत रोक लगाइएको छ । आवतजावतमा लगाइएको रोक नहट्दा उपचार गर्न भारत जाने नेपाली समस्यामा परेका छन् ।

सीमा पूर्ण रूपमा बन्द भएसँगै विभिन्न कामका लागि भारत जाने तथा भारतबाट नेपाल फर्कनेलाई समेत समस्या भयो । तर, त्यो भन्दा बढी समस्या भने उपचारका लागि भारतलाई जानेलाई भयो । अहिले महामारी विस्तारै कम हुँदै गएको छ । तर, सीमाको रोकटोक भने उस्तै छ । अर्थात् सीमाबाट उपचारका लागि भारत जानेलाई सहज अवस्था अझै छैन ।

सीमा पार गर्नलाई भारतीय आधार कार्ड भएका र स्थानीय प्रशासनको अनुमति पत्र पाएकालाई बिहान ८ देखि ११ बजेको समयमा तोकिएको छ । तर, आपतकालीन अवस्थामा भारत जानुपर्नेलाई सहज छैन । स्थानीय नै भन्छन्–‘भारत पुग्न सहज छ भन्नु मात्रै हो । कति दुःख दिन्छन्, हामीलाई थाहा छ ।’

आवतजावतमा रोक लगाइएको यो अवस्थामा पनि प्रशासनको अनुमति पत्र लिएर दैनिक पाँच सयको हारहारीमा नेपाली भारत जान्छन् । भारत जाने अधिकांश उपचारकै लागि जाने गरेका छन् । नेपाली मात्र नभएर भारतीय पनि दैनिक दुई सयको हारहारीमा नेपाल आउने गरेका छन् । यो संख्या सामान्य अवस्थाको तुलनामा ५ देखि १० प्रतिशत मात्र रहेको प्रशासनले जानकारी दिएको छ ।

भारत जनाका लागि पहुँच भएका बिरामीले मात्र अनुमति पत्र पाउने गरेको गुनासो हुने गरेको छ । भारत जान अनुमति पत्रका लागि पहुँच नपुग्नेहरु नाकाबाटै फर्कन बाध्य हुँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर भने पश्चिमी सीमा नाका गड्डाचौकीमा बिरामीलाई सहज आवतजावतको वातावरण बनाउने कोसिस गरिरहेको बताउँछ । नाता प्रमाणित गरी बिरामीलाई पठाउने गरिएको कार्यालयले जानकारी दिएको छ । प्रमाणित गर्न घण्टौ लाग्ने, बिरामीलाई गाह्रो पर्दा पनि यही नियम अपनाउनु परेको छ । तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पनि नियमबाट हट्नुको विकल्प नभएको बताउँछ ।

कोभिड–१९ का कारणले अहिले पनि पश्चिमी सीमानाका गड्डाचौकीमा नेपाल–भारत सीमा औपचारिक रुपले खुलेको छैन । तर, पनि बिरामीको सहजताका लागि भारतमा उपचार गर्न सहयोग गरिरहेको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट बताउँछन् ।

दुई राष्ट्र भए पनि खुल्ला सीमा नाका भएकाले भारतीय नेपाल आउन र नेपाली भारत जान कुनै रोकटोक हुँदैन । छिमेकी राष्ट्रको सम्बन्ध मात्र नभर नेपाली र भारतीयबीच पारिवारिक सम्बन्ध समेत वर्षौ पहिलेदेखि चल्दै आएको छ । त्यसैले भनिन्छ– ‘नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध छ ।’ तर, कोरोनापछि भने खुल्ला सीमा नाका भए पनि आवतजावतमा अवरोध हुँदै आएको छ ।

सीमा क्षेत्रका अधिकांश नेपाली, जीवन यापनका लागि भारत जान्छन् । त्यति मात्र होइन सीमावासीलाई औषधि उपचारका लागि पनि भारत नै सहज हुन्छ । तर, कोरोना महामारीपछि आवतजावतमा कडाइ गरिएसँगै सीमावासीलाई समस्या भएको छ । नेपाल–भारत दुबै देशमा कोभिड–१९ विद्धको खोप अभियान नै सुरु भइसके पनि आवतवात सहज छैन ।

प्रतिक्रिया दिनुहोस्