Logo
Logo
राति-राति गिटी र बालुवा चोर्न लगाउने क्रसर उद्योग सञ्चालक र ट्याक्टर धनी पक्राउ

राति-राति गिटी र बालुवा चोर्न लगाउने क्रसर उद्योग सञ्चालक र ट्याक्टर धनी पक्राउ


- दृष्टि संवाददाता

2.2k
Shares

चितवन, १५ माघ । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रको विनयी खोलामा रातको समयमा ढुङ्गा, गिटी, बालुवा चोरी निकासी गराएको अभियोगमा क्रसर उद्योगी र ट्याक्टर धनीलाई पक्राउ गरेको छ । पाँच क्रसर उद्योगका सञ्चालक र तीन ट्याक्टर धनीलाई पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको विनयी बालुवा प्रशोधन उद्योगका विवेक श्रेष्ठ, ज्यामिरे बालुवा प्रशोधन उद्योगका विनोद श्रीस, बाग्लुङ कालिका क्रासर उद्योगका शेरबहादुर थापामगर छन् ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं २ को त्रिनेत्र बाँस उद्योगका सुरज थापामगर र कावासोती नगरपालिका- ५ को त्रिवेणी क्रसर उद्योगका नारायण बस्नेत पक्राउ परेका हुन् ।

यसैगरी विनय त्रिवेणी गाउँपालिकाका ट्याक्टर धनी ओमप्रकाश भण्डारी, सीताराम धमला र सलीन तामाङ पक्राउ परेका अधिकारीले जानकारी दिए ।

उनीहरुको क्रसर उद्योगले मजदूर लगाएर रातको समय ढुङ्गा, गिटी, बालुवा निकासी गरिरहेको समयमा यही माघ १० गते बिहान २ः४५ बजे १२ जना मजदूर र तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको थियो ।

बयानका क्रममा मजदूरले क्रसर उद्योगले काम लगाएको भनेपछि उद्योगी र ट्याक्टर धनीलाई पक्राउ गरी मजदूरलाई छाडिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

मजदूरको बयानका आधारमा उनीहरुलाई बुधबार साँझसम्म पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । मजदूरको बयानपछि पत्र काटेर निकुञ्जले निजलाई झिकाएको थियो । निकुञ्जमा आएका उनीहरु पक्राउ परेका हुन् । सबै पक्राउ परेपछि निकुञ्जले आज पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । निकुञ्ज तथा आरक्षभित्र निषेधित कार्य गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

निकुञ्जका सुरक्षाकर्मीले चार दिन लगाएर मजदूरलाई पक्राउ गरेका थिए । निकुञ्जले अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी गर्नेमाथि निगरानी बढाएको बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्