काठमाडौं, १६ माघ । निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले आज साढे ११ बजे नेकपाका दुबै समूहलाई छलफलका लागि बोलाएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पत्र पठाएर दुबै अध्यक्ष र अध्यक्षले तोकेको आधिकारिक व्यक्ति गरी ५/५ जनालाई आयोगमा उपस्थित हुन भनिएको छ ।
निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारीमा आयोग रहेको छ । त्यसअघि नेकपाको विवाद छलफलबाटै सुल्झाउन सकिन्छ कि भन्दै आयोगले यो प्रयास थालेको बताइएको छ । आयोग स्रोतका अनुसार दुबै समूहलाई पठाइएको पत्रमा निर्वाचन प्रयोजनका लागि छलफल गर्न भन्दै बोलाइएको छ ।
तर, दुई समूहबीचको ‘झगडा’मै छलफल केन्द्रित हुने निश्चित छ । नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले निर्वाचन लगायतका विषयमा छलफल हुने जानकारी दिए । उनले भने, ‘निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ, निर्वाचनको तयारीकै शिलशिला अन्तर्गत बोलाइएको हो । दुबै समूहसँग छलफल हुँदा पार्टीको आधिकारिकता र चिन्हबारे पनि कुराकानी हुन्छ ।’
प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आयोगले बोलाएको जानकारी दिए । उनले भने, ‘आयोगले बोलाएको छ, हामीले हाम्रो कुरा स्पष्ट राख्दै आएका छौं । विधानतः हामी आधिकारिक हौं । यसबारेमा स्वभाविकरुपमा छलफल हुन्छ ।’
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाएको छ र माधवकुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ ।
ओली समूहले पनि कार्यकारी अध्यक्षबाट प्रचण्डलाई हटाउँदै एक अध्यक्षले निर्णय गर्न सक्ने प्रावधान राखेको छ । ओली समूहले केन्द्रीय कमिटी सदस्य समेत विस्तार गरिसकेको छ ।
गत माघ ११ गते बसेको आयोगको बैठकले ११ माघमा बसेको आयोगको बैठकले दुबै समूहको दाबी अस्वीकार गरेको छ । आयोगले कानूनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड नै रहेको भन्दै केन्द्रीय कमिटी ४४१ सदस्य नै कायम हुने स्पष्ट पारेको छ ।
किन बोलाइयो छलफलमा ?
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । तर, सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन रोक्नेबारे अदालतले केही नभनेका कारण बैशाख १७ र २७ गतेका लागि निर्वाचन सम्पन्न गर्नेगरी आयोगले आफ्नो काम तीव्र पारेको छ ।
अब कार्यतालिका सहित आचारसंहिता जारी गर्ने चरणमा पुगेको आयोगले पुनः एकपटक नेकपाका दुबै समूहलाई छलफलका लागि बोलाएको हो । नेकपाका दुबै समूहले के गर्छन् भन्ने निक्र्यौल गर्न छलफलका लागि बोलाइएको आयोग स्रोतको भनाइ छ ।
दुबै पक्षले आफू नै आधिकारिक दाबी गरिरहेका बेला विवाद मिलिहाल्ने अवस्था छैन । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गर्नुपर्नेहुन्छ । जुन हालका लागि सम्भावना छैन ।
आयोगले पनि कुनै एक पक्षलाई मान्यता नदिने प्रष्ट पारेको छ । त्यसो हुँदा निर्वाचनका लागि कसरी जाने भन्ने निक्र्यौल गर्न दुबै पक्षलाई छलफलमा राखेर टुंग्याउने आयोगको तयारी रहेको छ ।
सहमति नजुटे के हुन्छ ?
दुबै पक्ष एउटै नाम र एउटै चिन्हमा निर्वाचनमा जान तयार नभए दुबैले सूर्य चिन्ह पाउँदैनन् । सहमति नभएको अवस्थामा नेकपा दल दर्ता नहुन पनि सक्छ ।
अहिलेकै अवस्थामा बैशाखमा निर्वाचन हुँदा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम र सूर्य चिन्ह प्रयोगमा आउँदैन । यसमा सहमति नजुटे दुबै समूहलाई नयाँ दल दर्ता गर्ने वा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ बमोजिम दुई वा दुईभन्दा बढी दलले कुनै एउटा दलले प्राप्त गरेको चुनाव चिन्ह वा अर्को कुनै नयाँ चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन सक्छन् ।