विराटनगर, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आवश्यक भए संसद बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद भंग नभएको बताउँदै आवश्यकता परे संसद बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारवाही गर्न सकिने बताएका हुन । उनले भने– ‘संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ । केपी ओलीलाई विघटनको अधिकार दिएको छैन । त्यसकारण संविधानको अधिकार प्रयोग गरेर केपी ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउनका लागि सभामुखले बैठकको आयोजना गर्ने, हामी उपस्थित भएर केपी ओलाई कारवाही गर्नेसम्म जान सकिन्छ ।’
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्धको मुद्धा सर्वोच्चमा रहेको र सर्वोच्चले सहि फैसला गर्ने कुरामा विस्वास रहेको भन्दै अध्यक्ष प्रचण्डले भने– ‘अहिले यो मुद्धा सर्वोच्चमा छ । त्यस कारण हामी धैर्यताकासाथ सर्वोच्चले संविधानको मर्म, लोकतन्त्रको मर्म र भावना अनुसार यो देशका जनताको भावना र आवश्यकता अनुसार निर्णय गर्छ भनेर भरोसा गरेर बसेका छौं । तर जरुरी परे त्यो विकल्प नेपाली जनतासँग छ ।’
नेपाली जनताले पाँच वर्षका लागि जिताएर पठाएको, संविधानले पाँच वर्षको लागि सार्वभौम अधिकार प्रयोग गर्न जिम्मेवारी दिएका मान्छेहरु जिउँदै रहेको भन्दै अध्यक्ष प्रचण्डले भने– हामी मरेका छैनौं । कसैले नक्कली ढंगले स्वेच्छचारी तरिकाले निरंकुश तरिकाले मारे भन्दैमा हामी मर्नेवाला छैैनौं ।