काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज धनगढीमा असंवैधानिक कदम विरुद्ध विरोसभा गर्दैछ । प्रचण्ड-नेपाल समूहले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विशाल विरोध सभाको आयोनजा गरेको हो ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सो समूले यसअघि काठमाडौँ, बुटबल, विराटनगर लगायतका ठाउँमा विरोध सभाको आयोजना गरिसकेको छ।
नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधि सभा विघटन विरुद्ध धनगढीमा विशाल विरोध सभा गर्न लागेको जनाएको छ । विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल शनिबार बिहान धनगढी गएका छन् ।
धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपाले जनाएको छ । धनगढीको दुई ठाउँबाट र्याली निकालिने, र्याली कार्यक्रमस्थलमा गएर टुङगिने कार्यक्रम रहेको छ । सभामा ५० हजार नागरिक सहभागी हुने नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीको अनुमान छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह सडक आन्दोलनमा उत्रिएका छन् । यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी पनि आन्दोलनमा उत्रिएका छन् ।