काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि नेकपा दुई समूहमा विभाजन भयो । एक समूहको नेतृत्व प्रचण्ड–माधवले गरेका छन् । पार्टीको बहुमत सदस्य रहेकाले धेरैले प्रचण्ड–माधव समूह नभनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भनेर सम्बोधन गर्ने गरेका छन् । अर्को समूहमाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । जुन समूहलाई नेकपा ओली समूह भन्ने गरिएको छ ।
निर्वाचन आयोगले दुबै समूहको आधिकारिकता दावीमा अन्तिम फैसला गरिसकेको छैन । दुबैको दावी विधानसंवत् नरहेको भन्दै आयोग मध्यमार्गी भूमिका खेल्दैछ । तर, आयोगको एक निर्णयले भने ओली समूहको पछिल्लो गतिविधि खारेज गरिदियो । ओली समूहले विस्तार गरेको केन्द्रीय कमिटीललाई आयोगले अवैधाविक भनेपछि ओली समूह तिलमिलाए । प्रचण्ड–माधव समूहले राहत महसुुस गरे ।
असंवैधानिक कदमविरुद्धको मुद्धा संवैधानिक इजलासमा बहसकै क्रममा छ । तर, नेकपाका दुबै समूह आफ्नो पक्षमा माहोल बनाउन जनतामाझ पुगेका छन् । प्रचण्ड–माधव समूह ओलीको असंवैधानिक कदमले व्यवस्था नै खतरामा परेको भन्दैै सडकबाट शक्ति बटुल्न प्रदेश–प्रदेशमा जनसभा गर्दै हिडेको छ ।
ओली समूह निर्वाचनको नारा लिएर भेला बैठक गर्दैछ । दुनियाँ ओलीको असंवैधानिक कदमविरुद्ध सकडमा रहेकाले प्रचण्ड–माधवलाई सहज छ । तर, ओली समूहलाई त्यति सहज छैन । ओली समूहले निर्वाचनलाई जनतासमाझ जाने अस्त्रको रुपमा प्रयोग गरेको छ । जुन अस्त्र देशकै लागि घातक रहेको भन्दै सर्वत्र विरोध भइरहेको छ । त्यसैले ओली समूहलाई सहज छैन ।
सनिबार दुबै समूहले आफ्नो पक्षको सभा आयोजना गरे । प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सुदुरपश्चिमको धनगढीमा आयोजना गरेको सभामा जनसागर उर्लियो । तर, ओली समूहले चितवनमा आयोजना गरेको सभामा त्यस्तो जनसागर देखिएन ।
पार्टी एक हुँदा विशाल जनसभालाई सम्बोधन गर्ने बानी परेका प्रधानमन्त्री ओली चितवन सभामा उपस्थितको संख्या हेरेर हच्किए । उनकै भाषणलाई आधार मान्ने हो भने पनि चितवनमा ओली पक्षको सभामा अत्यन्तै न्यून उपस्थिति थियो । उनले भनेका थिए– ‘यो भन्दा दोब्बर जनता सहभागी सभालाई सम्बोधन गर्न आउनेछु ।’
सभामा सहभागीको संख्या थोरै देखेर खिन्न हुँदै प्रधानमन्त्री ओली काठमाडौं फर्के । तर, ओलीको भाषणभन्दा अगाडी नै धनगढीको सभालाई सम्बोधन गरेका नेकपा अध्यक्ष प्रचण्डले ओलीको पक्षमा कति जनमत छ भनेर बताइसकेका थिए । प्रचण्डले भनेका थिए– ‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्छन् । अस्ति धनगढीमा सभा गरेपछि उनको फुर्ती बढेकै थियो । आज तपाईहरुले सडकमा पनि केपी ओली एक तिहाई नै हो भन्ने सावित गरिदिनुभयो ।’
दुबै समूह आफ्नो पक्षमा जनमत रहेको दावी गर्छन् । तर, पार्टी, सदन र सडकले त्यसो भन्दैन । प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा ठूलो जनमत रहेको जति नै दावी गरे पनि पत्याउने अवस्था छैन । पार्टी केन्द्रीय कमिटीको संख्या कसको पक्षमा कति भन्ने भनिराख्नै पर्दैन । प्रतिनिधिसभा र राष्ट्रियसभा तथा स्थानीय सरकार सबैतिर हेर्दा पनि त्यस्तो देखिदैन । सडकको कुरा नगरे हुन्छ । कताको सागर, कताको कुवा ! एकै दिन दुई समूहले आयोजना गरेको सभाका यी दुई तस्वीरले सबै बोल्छ ।
शुक्रबार विराटनगरमा आयोजित सभामा जनसागर देखेर प्रचण्ड–माधव समूह उत्साहित भएका थिए । सनिबार धनगढीमा उर्लेको जनसागरले प्रचण्ड–माधव समूहमा उत्साह थपिएको छ । आफ्नो सभामा प्रचण्ड–माधव समूहकोभन्दा कम नेता कार्यकर्ता देखेर ओली समूहको मन पक्कै खिन्न छ । तर, त्यसै यस्तो भएको होइन । नेताले लिएको नीतिको आधारमा राम्रो र नराम्रो छुट्याउन सक्ने नेपाली नागरिकको निर्णय क्षमताले यस्तो भएको हो । संविधान विरुद्धको खेलमा साथ दिन कोहि त्यसै तयार हुन सक्दैनन् ।
एउटै आँखाले दुबै समूहलाई हेर्दा दुबै समूहले आफ्नो सभालाई ठूलो देखाउन प्रतिस्पर्धा गरेका हुन् । दुबै समूहले गाउँ–गाउँबाट गाडी–गाडीमा जनता ओसारेकै हुन् । सत्ता शक्तिमा भएकाले त झन् के–के गरेर जनता ओसारे कथा नगरौं । जे जस्तो भए पनि सभा ठूलो देखाउन प्रतिस्पर्धा हुन्छ । विगतकै निरन्तरता हो । तर, त्यति धेरै बल गर्दा पनि उपचार नलाग्ने अवस्थाले चाहिँ कसको हविगत के भन्ने छर्लङ्ग हुन्छ ।
राजनीतिक दलले आयोजना गर्ने सभामा सहभागी जनताको संख्याले अर्थ राख्दैन भन्नेहरु पनि छन् । भनिने के हो भने, सबै सहभागी पक्षका मतदाता हुँदैनन् । रमिता हेर्न आएका पनि त हुनसक्छन । तर, आजको युगमा त्यो भन्दा मजाक केहि हुँदैन । गउँको चिया पसलमा समेत राजनीतिक आस्थाको आधारमा विभाजित हुने हामी नेपाली बिपक्षी पार्टीको फगत गफ सुन्न किन जान्थ्यौ र ! यति भन्नुको अर्थ राजनीतिक दलले आयोजना गर्ने सभामा सहभागी उनीहरुकै नेता कार्यकर्ता वा शुभेच्छुक हुन । यसैलाई आधार मान्ने र दुई समूहमा विभाजनपछि नेकपाका दुबै समूहले आयोजना गरेको सभामा सहभागी संख्यालाई हेर्दा कसको पक्षका कति जनमत भन्ने प्रष्ट हुन्छ ।
किन यस्तो भयो त ? यसको पनि जवाफ छ । तर, पनि केही चर्चा गारौं । ठूलो बलिदानको जगमा स्थापित व्यवस्था नै समाप्त पार्ने खेलमा लाग्नेलाई साथ दिन दश पल्ट टाउको ठोकाउनु पर्छ । तर, व्यवस्था मास्ने कदमविरुद्ध सडकमा आउन कसैले कसैलाई रोख्नु सक्दैन । किनकी, यो व्यवस्था ल्याउन आम नागरिकको ठूलो त्याग, तपस्या र बलिदान छ । यो व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि कसैलाई स्वीकार्य हुँदैन । त्यसैले प्रचण्ड–माधव पक्षलाई सडकको साथ छ ।
वास्ताविकता के पनि हो भने वर्तमान संकटको भागिदार ओली एक्लै भने होइनन् । ओली र प्रचण्ड–माधव दुबै समूह बराबर हुन । आम नागरिकको नजरबाट ओली–प्रचण्ड मतभेदलाई भागबण्डाकै कारण मात्र देखिन्छ । त्यो गलत होइन । तर, मतभेदपछि उत्पन्न परिस्थितिमा को कति जिम्मेवार भन्ने छुट्यानु पर्छ । वर्तमान राजनीतिक संकटको मुख्य कारण ओली नै हुन् । उनको असंवैधानिक कदम नै ओली युग अन्त्यको प्रस्थानविन्दु हो ।