काठमाडौं, १७ माघ । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टीम नेपाल’ले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको ‘हाम्रो टीम नेपाल’ले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।
‘हाम्रो टीम नेपाल’का अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए ।
रेस्टुरेन्टबाट नेपाली खानाको प्रवर्द्धन हुने पनि अध्यक्ष पन्तले बताए । ‘हाम्रो टीम नेपाल’ले गत वर्ष चैत ११ गतेदेखि लकडाउन भएपछि काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।