काठमाडौं, १८ माघ । काठमाडौंमा बर्डफ्लू देखिएपछि पशु सेवा विभागले २ हजार ५ सय ४४ घरपालुवा पन्छी नष्ट गरेको छ । विभागका अनुसार किसानले पालेका १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की नष्ट गरिएको हो ।
त्यस्तै ५४२ अण्डा र ७५ केजी दाना पनि नष्ट गरिएको छ । बर्डफ्लूको संक्रमण नफैलियोस् भन्दै विभागले तारेकेश्वर नगरपालिकाका वडा नम्बर ७ साङ्लेखोला, फुटुङ आसापासका क्षेत्रमा निःसंक्रमण गरिएको छ ।
संक्रमण फैलिन नदिन प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरिएको विभागले जानकारी दिएको छ । विभागले सूचना जारी गर्दै चार बुँदे अपिल समेत गरेको छ ।
अपिलमा पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिनुपर्ने, फर्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्नुपर्ने, फर्म आसपासमा नियमित रुपमा निःसंक्रमण तथा व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने र अस्वभाविक रुपमा पन्छी विरामी परे वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा सूचना दिनुपर्ने भनिएको छ ।
यो पनि पढ्नुहोस्ः
नेपालमा बर्डफ्लु: पन्छीको मासु खानेलाई चिकित्सकको यस्तो सुझाव