काठमाडौं, १८ माघ । नेकपाको प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक भोलि सोमबार बिहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने भएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गरिरहेको यो समूहले अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा केन्द्रीय कमिटीमा छलफल गर्ने जनाएको छ।
माघ ९ गते काठमाडौंमा जनसभा गरेको प्रचण्ड–माधव पक्षले फेरि माघ २८ गते काठमाडौंमै सभा गर्ने तय गरिसकेको छ। माइतीघरमा बुधबारदेखि जारी धर्ना भने आज अन्त्य गरिएको छ ।
यो समूहले यसबीचमा बुटवल, विराटनगर र धनगढीमा जनप्रदर्शन गरेको थियो । प्रचण्ड–माधव समूहले आफूसँग केन्द्रीय कमिटीका बहुमत सदस्य, २९७ जना रहेको दाबी गर्दै आएको छ ।