काठमाडौं, १८ माघ । काठमाडौं महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार कमलपोखरी वरिपरिका भौतिक संरचना भत्काएको छ ।
आइतबार साँझ महानगरपालिकाले महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सतलमा डोजर लगाएर भत्काएको छ क्लब भवनमा जिम हल पनि थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीका अनुसार कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती संरचना भत्काइएको हो । भवन भत्काउने क्रममा स्थानीय युवाले रोक्ने प्रयास गरेका थिए ।
ज्ञवालीले योजना अनुसारको काम अघि बढाउने र त्यहाँ सुन्दर पोखरी निर्माण गर्ने बताए । उनले भने ‘हामीले पोखरी क्षेत्रभित्रै रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काएका छौँ, चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं । समान्य रुपमा सिमेन्टको प्रयोग भने हुन्छ ।’