काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बोलाइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा विहान बोलाइएको बैठकमा आन्दोलनको समिक्षाका साथै समसामयिक विषयमा छलफल हुने भएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलन प्रभावकारी भनेको भन्दै थप प्रभावकारी बनाउन केन्द्रीय कमिटीमा छलफल हुने जानकारी दिए । उनले भने, ‘समसामयीक विषयमा छलफल हुन्छ । आन्दोलनका कार्यक्रमको समिक्षा पनि हुन्छ ।’
प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।
यसअघि पुस ७–९ मा प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बसेको थियो । त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।