Logo
Logo

कांग्रेसका सबै भ्रातृसंगठनले विरोध प्रदर्शन गर्दै


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, १९ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा उत्रिएको छ ।

आज उसका १३ वटा भ्रातृ संगठनहरुले आन्दोलनको अगुवाई गर्ने छन् । प्रतिनिधिसभा विघटनको विरोधका लागि आम नागरिकलाई आह्वान गरिएको छ ।

१३ वटै भ्रातृ संगठनहरुले अपिल जारी गर्दै भनेका छन, ‘नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं । यस क्रममा माघ १९ गते (आज) नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।’

अपिलमा थप भनिएको छ, ’संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं ।’

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजको अगुवाईमा देशका विभिन्न ठाउँमा कांग्रेसले विरोध प्रदर्शन आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्