भक्तपुर, १९ माघ । कक्षा १२ को नतिजा आज प्रकाशन हुने भएको छ । गत मंसिरमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज प्रकाशन गर्ने बोर्डको तयारी रहेको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि बोर्डको बैठक बस्दैछ ।
गत बैशाख/जेठमै लिनुपर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित भएको थियो । गत मंसिरमा कक्षा १२ को परीक्षा लिइएको थियो । परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।
स्नातक तहको शैक्षिक सत्र प्रभावित हुन नदिन संक्षिप्त परीक्षा लिएर १ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य थियो । बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।
चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो ।
कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आएको छ ।