काठमाडौं, १९ माघ । आज माघ १९, अर्थात १६ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए । उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए ।
२०६१ साल माघ १९ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै शाही सम्बोधन मार्फत शासनसत्ता आफैंले चलाउने घोषणा गरेका थिए । यही पृष्ठभूमिमा रहेको भएको जनआन्दोलनले अढाइ सय वर्षको राजतन्त्र फालेको थियो ।
यही जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्न सफल भयो । त्यसबेला राजाले राजनीतिक अधिकार खोस्दै मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेका थिए । त्यसबेला टेलिफोन लाइनहरु काटिएका थिए भने सञ्चारगृहहरुमा सेना परिचालन गरिएको थियो ।