Logo
Logo

पार्टीले मोही माग्ने ढुंग्रो लुकाउने गर्नु हुँदैन : नेता पौडेल


- दृष्टि संवाददाता

189
Shares

दमौली, १९ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुंग्रो लुकाउने गर्न नहुने बताएका छन् । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा सोमबार यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्ने बताए ।
‘संसद् विघटन असंवैधानिक छ भनेर कांग्रेसले भनिसकेकाले यसको उपचार पनि कांग्रेसले खुलेर भन्नुपर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हँुदैन’ उनले भने, ‘प्रतिनिधिसभाको पुनःस्थापना भएर मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउँछ ।’
जनताले प्रतिनिधिसभालाई पाँच वर्षका लागि चुनेकाले प्रतिनिधिसभाको म्याद पाँच वर्ष नै हुनुपर्ने पौडेलले जिकिर गरे । उनले भने, ‘प्रतिनिधिसभा पुनःस्थापन भएपछि मात्रै कांग्रेसको मन्तव्य र गन्तव्य प्रष्ट हुन्छ । कांग्रेसको मन्तव्य यो कार्य अवैधानिक हो भनेर भन्ने र गन्तव्य भनेको वैधानिक बनाउने नै हो ।’
वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरे । उनले सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्ने हुनाले कांग्रेस निर्णायक संघर्षमा नपुगेको भन्दै भने, ‘हामी निर्णायक संघर्षमा पुग्न नपरोस् ।’
लोकतन्त्रको सिद्धान्तमाथि पटकपटक आक्रमण भइरहेको चर्चा गर्दै उनले नेताहरुको महत्वाकाङ्क्षाका कारण संसद् भङ्ग हुने गरेको इतिहास रहेको दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, नेपाल महिला संघका सभापति पवित्रा पौडेल लगायतले अदालतले संसद् पुनःस्थापनाका पक्षमा फैसल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्