Logo
Logo

बर्डफ्लु नियन्त्रण गर्न ‘र्‍यापिड रेस्पोन्स टीम’ गठन


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, १९ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टीम’ बनाएको छ । मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलका अनुसार फ्लु रोक्न टीम बनाइएको हो ।

यो टीमले कुनै पनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल कुखुरा नष्ट गर्नेछ । मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टिन कार्यालय, २४ वटा चेकपोष्टलाई सतर्क रूपमा पनि राखेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले आश्वासन दिए ।

कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउन समेत मन्त्रालयले सूचना जारी गरेको छ ।

उपभोक्तालाई पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खान सुझाव मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस्