Logo
Logo

भारतकाे आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक, स्वास्थ्यमा १ सय ३७ प्रतिशत वृद्धि


- दृष्टि संवाददाता

567
Shares

एजेन्सी, १९ माघ । भारतले आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री सितारमणले पहिलो पटक अप्रिलदेखि सुरु हुने आर्थिक वर्षको पेपरलेस बजेट पेश गरेकी हुन् ।

बजेट भाषणमा यस वर्ष भारतले स्वास्थ्य क्षेत्रमा अत्यधिक रकम छुट्याएको छ । स्वास्थ्य बजेट १ सय ३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पुर्‍याएको छ । बजेट भाषणको क्रममा सितारमणले भारतले एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने बताएकी थिइन् । कोरोना महामारी अहिले विश्वभर फैलिएको अवस्थामा भारतले खोपका लागि तीन खर्ब ५० अर्ब भारु छुट्याएको छ ।

भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाउँदै ७४ प्रतिशत पुर्‍याउने बताएको छ । साथै सरकारी बैंकहरुलाई दुई खर्ब राहत दिने निर्णय गरेको छ । त्यस्तै वायुप्रदूषण नियन्त्रणको लागि २२ अर्ब १७ करोड भारु छुट्याइएको छ । त्यस्तै सन् २०२२ सम्म किसानहरुको आम्दानी दोब्बर बनाउने भारतको योजना छ ।

भारतले आत्मनिर्भर अभियानलाई पनि यस वर्षको बजेटमा जोड दिएको छ । त्यसका लागि सरकारले त्यसको स्वरुपमा सुधारको कार्यलाई बढाएको छ । भारतको आत्मनिर्भर स्वस्थ भारतक योजनाको लागि ६ वर्षमा ६ खर्ब ४१ अर्ब ८० करोड भारु छुट्याएको छ ।

बजेट भाषणपछि विश्लेषकले बजेटलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको एनडीए सरकारले सुस्त रहेको अर्थतन्त्रलाई गति दिने गरी बजेट ल्याउँछ भन्ने अनुमान विपरित आर्थिक बर्ष २०२१/२२ को आय ब्ययको विवरण सार्वजनिक भएको विश्लेषकको तर्क छ । कोरोनाले थङ्थिलो पारेको अर्थतन्त्रलाई उकास्ने गरी बजेट नआएको समेत विश्लेषकले गुनासो गरे । कोरोनाले भारतको आर्थिक वृद्धि २३ दशमलव ९ प्रतिशतले ऋणात्मक भएको थियो ।

बजेटले घर र अपार्टमेन्ट खरिदकर्तालाई पनि राहत दिएको छ । आवास खरिदको रजिष्ट्रेशन दस्तुरमा डेढ लाख भारतीय रुपैयाँसम्मको सहुलियत दिने अवधिलाई एक वर्ष थप गरेर ३१ मार्च २०२२ सम्म पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्