काठमाडौं, १९ माघ । युवा तथा खेलकुद मन्त्रालयले ८० वटा नयाँ पालिकामा खेलग्रामका लागि बजेट दिने भएको छ ।
मन्त्रालयले माघ ५ गतेसम्म खेलग्राम प्रस्तावका लागि सूचना जारी गरेको थियो । प्राप्त प्रस्तावमाथि अध्ययन गरेर मन्त्रालयले ८० वटा पालिकामा बजेट रकम पठाउने निर्णय गरेको हो ।
हरेक स्थानीय तहमा एक खेलग्राम बनाउने सरकारी घोषणा अनुसार मन्त्रालयले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । सरकारले चालू आर्थिक वर्षका लागि खेलग्राम निर्माणका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत आर्थिक वर्ष मन्त्रालयले ८४ वटा स्थानीय पालिकालाई खेलग्रामका लागि बजेट निकासा गरेको थियो ।
स्थानीय तह र संघीय सरकारको संयुक्त लगानीमा बन्ने खेलग्राममा स्थानीय तहले ३० प्रतिशत रकम सुनिश्चित गरेमा संघीय सरकारले ७० प्रतिशत रकम उपलब्ध गराउने उल्लेख छ ।