काठमाडौं, २० माघ । नेपाली सेना भोली पनि सडकमा निस्किने भएको छ । माघ १९ को राति बख्तरबन्ध गाडीले चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्ध गाडीको अभ्यास गर्ने भएको हो ।
देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेले बताए ।
उनका अनुसार बुधबार दिउँसो पनि काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्ध गाडीको अभ्यास हुने भएको हो । सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको सैनिक प्रवक्ताको भनाई छ ।
नेपाली सेनाले लामो समयदेखि बख्तरबन्ध गाडी सडकमा निकालेको थिएन । तर, एक्कासी माघ १९ गतेको राति काठमाडौंको चक्रपथमा बख्तरबन्ध गाडीको लस्कर देखेपछि चासो र चर्चा सुरु हुन थालेको छ ।
नेपाली सेनाका प्रवक्ता पौडेलले भने यसलाई नियमित अभ्यास भएको बताए पनि कतिपयले भने प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्ध गाडीको अभ्यास गर्नु अर्थपूर्ण हेरिएको दिईरहेका छन् ।