चितवनकी तृप्ति श्रेष्ठलाई कलाकारितामा ‘रस’ बस्न थालेको छ । अचानक ग्ल्यामरस क्षेत्रमा प्रवेश गरेकी तृप्ति मोडलिङ र अभिनयमा व्यस्त हुन थालेकी छन् । चितवनकी तृप्ति करिब सात वर्षअघि टेलिचलचित्र ‘किलो ट्यांगो माइक’मार्फत अभिनयमा प्रवेश गरेकी हुन् । जतिखेर यो टेलिचित्र निकै लोकप्रिय थियो । टेलिचलचित्रमा अभिनय गर्नुअघि टिभिसी एडमा मोडलिङ गर्ने असवर पाएकी तृप्ति भन्छिन्, ‘विना सोच र उद्देश्य यो क्षेत्रमा लागेकी हुँ । अहिलेचाहिँ कलाकारितामा रस बस्न थाल्यो । अब यसै क्षेत्रमा करिअर बनाउने सोच बनाएकी छु ।’ तृप्तिले थुप्रै शर्ट फिल्म र म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छन् । केही फिचर फिल्ममा समेत अभिनय गरेकी तृप्ति भन्छिन्, ‘मलाई सामाजिक विषयवस्तु चित्रण हुने फिल्ममा काम गर्ने इच्छा छ ।’ पछिल्लो समय ‘घरबेटीकी छोरी’ ‘अनामी’ ‘लकडाउन’जस्ता शर्ट फिल्ममा काम गरेकी तृप्ति आफूलाई संघर्षरत कलाकारको रुपमा लिन्छिन् । यिनै मोडल तृप्तिसँग दृष्टिको जम्काभेट :
तपाइँको घर कता प¥यो ?
मेरो घर चितवन, नारायणघाट हो । तर, केही वर्षयता काठमाडौंमै बस्दै आएकी छु ।
कलाकारिता गर्नकै लागि काठमाडौं आउनुभएको हो ?
होइन, यहाँ दिदी हुनुहुन्थ्यो । उहाँहरुलाई भेट्न आइरहन्थेँ । कलाकारिता क्षेत्रमा लाग्छु भन्ने त सोचेकै थिएन ।
सोच नभएको हो कि रुचि नै थिएन ?
मोडलिङमा अलिअलि रुचि थियो । तर, यसै क्षेत्रमा लागेर करिअर बनाउँछु भन्ने सोचेकी थिएन । तर, अहिले काम गर्दै जाँदा रुचि र इच्छा पनि बढ्दै गएको छ । अब यसै क्षेत्रमा करिअर बनाउने सोच बनाएकी छु ।
कलाकारिताको सुरुवात कसरी भयो ?
म काठमाडौं आइरन्थे । त्यतिमै टिभिसी एडहरुमा मोडलिङका लागि प्रस्ताव आयो । प्रस्ताव आएपछि गरौँ न त भनेर मोडलिङ गर्न थालेँ । त्यतिकैमा टेलिचलचित्र ‘किलो ट्यांगो माइक’मा अभिनयको लागि अफर आयो ।
यो क्षेत्रमा लाग्नुभएको कति भयो ?
कलाकारिता नै गर्छु भनेर लागेको सात वर्ष भयो । ‘किलो ट्यांगो माइक’ मैले अभिनय गरेको पहिलो टेलिचलचित्र हो ।
हिजोआज चाहिँ के गर्दै हुनुहुन्छ ?
‘किलो ट्यांगो माइक’मा अभिनय गरेयता शर्ट फिल्महरुमा अभिनय गर्न थालेँ । मैले म्युजिक भिडियोहरुमा पनि मोडलिङ गर्दै आएकी छु । अहिले पनि शर्ट फिल्म र म्युजिक भिडियोहरु नै गरिरहेकी छु ।
कलाकारिता क्षेत्र कस्तो लागिरहेको छ ?
म संघर्षरत कलाकार हुँ । यो क्षेत्रमा काम गर्न गाह्रो पनि छ । काममा समयमा पुग्नुपर्ने हुन्छ । तैपनि मलाई रमाइलो लागिरहेको छ ।
रमाइलोचाहिँ यो क्षेत्रमा कसरी हुन्छ ?
कलाकारिता क्षेत्र पनि मिडिया फिल्ड हो । यो क्षेत्रमा काम गर्दा धेरै जनासँग चिनजान हुन्छ । साथीभाई धेरै भएपछि रमाइलो हुन्छ । अहिलेसम्म कलाकारितामा लागेर खुसी छु ।
नेपाली फिल्म कतिको हेर्नुहुन्छ ?
म हेर्छु । पछिल्लो समय ‘आमा’ हेरेकी हुँ । यो फिल्ममा मैले पनि अभिनय गरेकी छु । तर, आफूले काम गरेको भएरमात्र हेरेकी होइन, नेपाली फिल्म हेरिरहेकी हुन्छु ।
हिजोआज बनिरहेका फिल्महरु कस्तो लाग्छ ?
पहिलाभन्दा अहिले धेरै राम्रो नेपाली फिल्म बन्न थालेका छन् । फिल्ममा ठूलो लगानी आउन थालिएको छ । अहिलेसम्म मैले हेरेका प्रायः नेपाली फिल्म मलाई राम्रै लागेको छ ।
तपाइँको उद्देश्यचाहिँ के हो ?
यही क्षेत्रमा करिअर बनाउन लागिपरेकी छु । त्यसैले अब ठूलो र राम्रो ब्यानरका फिल्ममा अभिनय गर्ने इच्छा छ । भविष्यमा कुसल कलाकार भएर चिनिन चाहन्छु ।
कस्तो फिल्ममा अभिनय गर्ने इच्छा छ ?
फिल्म सबै लभस्टोरी नै हुन्छ । त्यसमा पनि सामाजिक विषयवस्तु् र सन्देश बोकेको कथावस्तुमा आधारित फिल्ममा काम गर्ने रुचि र इच्छा छ ।
कलाकारिता क्षेत्रमा अगाडि बढ्न ‘ब्याकअप’ चाहिन्छ भनिन्छ, तपाइँको धाराणा के छ ?
मैले पनि यस्तै सुनेकी हुँ । तर, सबैभन्दा ठूलो कुरा प्रतिभा हो । आफूसँग कला र प्रतिभा भयो खाशै ब्याकअपको जरुरी छैन । तैपनि ब्याकअफ (आफ्नो मान्छे) भएको राम्रो ।
नयाँ पुस्ताका अभिनेत्रीहरु अंगप्रदर्शनमा प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा आफूलाई उभ्याउन सक्नुहुन्छ ?
आफूले दिन सक्ने र समाजले पचाउन सक्नेसम्म अभिनय गर्न सक्छु । तर, म अरुसँग प्रतिस्र्धात्मकरुपमा भन्दा आफ्नो कला र प्रतिभाले अगाडि बढ्छु ।