काठमाडौं, २० माघ । सुबु केसी त्यति चर्चित नाम होइन । तर, केही महिनाअघिसम्म उनको नेपाल प्रहरीमा हालिमुहाली थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमा कतिपयले उनलाई छायाँ आइजिपीका रुपमा लिन्थे । महानिरीक्षक खनालका साथी रहेका उनले खनालको सबै आर्थिक कारोबार सम्हालेका थिए । प्रहरीका ठेक्कामा मात्र होइन सरुवामा समेत उनको हालिमुहाली चल्थ्यो ।
पद र शक्तिको स्वार्थले सम्बन्ध कसरी परिवर्तन हुन्छ भन्ने कुरा खनाल र केसीको दोस्ती र अहिलेको दुस्मनीले देखाउँछ । खनाल अवकाश हुने बेला केसी अमेरिका गए । अहिले दुईबीच राम्रो बोलचालन समेत छैन । स्रोतका अनुसार खनालले केसीमार्फत विभिन्न ठाउँमा लगानी गरेका थिए । त्यो पैसा दिन अहिले केसीले अस्वीकार गरेका छन् । बसुन्धरा बैंकेट लगायतमा केसीले खनालको पैसासमेत लगानी गरेका थिए ।
प्रहरी नेतृत्वकै आडमा केसी सम्पत्ति शुद्धीकरणको धन्दामा समेत संलग्न थिए । स्रोतका अनुसार नेपालबाट अमेरिकामा हुन्डीमार्फत पैसा पठाउने र त्यसलाई बैधानिक माध्यमबाट भित्राएर कालो धनलाई सेतो बनाउने उनको काम थियो । अहिले यस्तै धनबाट कमाएको पैसा उनले दुबईमा समेत लगानी गरेको स्रोत बताउँछ । दुबईमा सुन तस्कर लगायतसँगको उनको कनेक्सन छ ।
केसीले धोका दिएपछि खनाल समेत यतिबेला तनावमा परेका छन् । केसीले अर्का व्यवसायी दीपक कुँवरलाई समेत धोका दिएको स्रोत बताउँछ ।